बैंकहरुले घटाउन खोजेको सेयर धितो कर्जा ४८ करोडले बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकको कडाइपछि निरन्तर घटेको सेयर धितो कर्जा चालु आर्थिक वर्षको असोज महिनामा भने बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो प्रकृतिको २५ लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भारीत व्यवस्था घटाएपछि असोज महिनामा बढेको हो।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ । यसभन्दा अघि एक संस्थाबाट एक एक व्यक्तिले ४ करोड भन्दा धेरै लिन नपाउने व्यवस्था गरेको थियो।

त्यसैगरी मौद्रिक नीतिले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत कायम गरेको छ । यसले पनि असोज महिनामा सेयर धितो कर्जा बढ्नमा मद्दत गरेको हो ।

कोरोना महामारीको असर कम भएसंगै अर्थतन्त्रले गति लिन थालेपछि बैंक वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव बढ्न थाल्यो । बैंकिङ प्रणालीमा देखिएको यो समस्याले ब्याजदर बढायो । ब्याजदर बढ्न थालेपछि सेयर बजार ३ हजार २ सयको विन्दुबाट निरन्तर घट्न थाल्यो।

धितोपत्र बजार पछिल्लो समयमा एक हजार ८ सय अंक भन्दा तल झरेपछि केन्द्रिय बैंकले सांकेतिक नीतिगत परिवर्तन गर्यो । त्यसले गर्दा घट्दो बजारमा लगानी बढाउन लगानीकर्ताले कर्जा बढाएपछि असोज महिनामा ४८ करोड रुपैयाँ भन्दा धेरैले मार्जिन प्रकृतिको कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा बैंक वित्तीय संस्थाले सेयर धितो शिर्षकमा ७६ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा रकम यहि आवको भदौ महिनाको तुलनामा ४८ करोड ७० लाख रुपैयाँले धेरै हो । भदौ महिनासम्ममा बैंक वित्तीय संस्थाले सो शिर्षकमा ७५ अर्ब ८४ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

तर, चालु आर्थिक वर्षको असोज महिनाको सेयर धितो कर्जा गत आवको सोही अवधिको तुलनामा भने २६.५५ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७८/०८९ को असोज मसान्तसम्ममा बैंक वित्तीय संस्थाले १०३ अर्ब ९१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।