एनसीसी बैंकको चुक्ता पुँजी साढे ११ अर्ब नाघ्यो, कुमारी बैंकसँग गाभिँदै

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुगेको छ ।

बैंकको मंसिर २ गते शुक्रबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाबाट पारित भएको ३.३६६३ प्रतिशत बोनस सेयर पश्चात बैंकको पुँजी साढे ११ अर्ब नाघेको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको सभाले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । यस्तै सभाले कुमारी बैंकसँग एक आपसमा गाभ्ने/गाभिने तथा मर्जर तथा प्राप्तीसँग सम्बन्धीत भए गरेका काम कारवार्ही अनुमोदन र आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब ५० करोड रुपैयाँ पुगेकोे छ । त्यसैगरी बैंकले १ खर्ब २४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।