बैंकहरुमा १६ अर्ब निक्षेप थपिँदा साढे एक अर्ब कर्जा, १४ वटाको निक्षेप र ८ को कर्जा घट्यो

0
Shares

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंकिङ प्रणालीमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिएको छ । महंगो ब्याजदरका कारण बैंकहरुको भएको कर्जा घट्ने मात्र नभई नयाँ कर्जा पनि प्रवाह हुन नसकेपछि निक्षेप बढेको हो ।

बैंकिङ प्रणालीको चर्को ब्याजदरका कारण निक्षेप आकर्षित भएको भएपनि कर्जा लगानी विस्तार हुन सकेको छैन । सर्वसाधारणले ब्याज प्रतिफलका लागि निक्षेप राखेको भएपनि महंगोमा कर्जा लिएर व्यापार व्यवसाय वा अन्य आर्थिक गतिविधि बढाउन भन्दा पनि घटाउन थालेपछि बैंकहरुको कर्जा विस्तार हुन नसकेको हो । कात्तिक महिनामा बैंकहरुको कर्जा प्रबाह एक अर्ब २९ करोड रुपैयाँले मात्र बढेको छ ।

चालु आर्थिक वर्षको चौथो महिनामा अधिकासं बैंकहरुको कर्जा घटेको छ भने केहीको निक्षेप पनि घटेको छ । तर, निक्षेप बढ्ने बैंकहरुको संख्या कर्जा घट्ने भन्दा पनि धेरै छ । सञ्चालनमा रहेका २६ बैंकहरु मध्ये ८ बैंकको निक्षेप घटेको छ । त्यसैगरी १४ बैंकहरुको कर्जा घटेको छ ।

कात्तिक महिनामा सबैभन्दा धेरै निक्षेप बढाउनेमा सानिमा बैंक रहेको छ । बैंकले ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप थप गरेको छ । कात्तिक महिनामा सानिमा बैंकको कर्जा भने २३ करोड रुपैयाँले घटेको छ । सो अवधिमा सबैभन्दा धेरै निक्षेप घट्ने बैंकको नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकको ४ अर्ब ६७ करोड रुपैयाँ निक्षेप घटेको छ ।

गत महिनामा सिद्धार्थ बैकको कर्जा सबैभन्दा धेरै घटेको छ । बैंकको ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कर्जा घटेको छ । त्यसैगरी एनआइसी एसिया बैंकको पनि २ अर्ब १९ करोड रुपैयाँ कर्जा घटेको छ । कात्तिक महिनामा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा नेपाल बैंक रहेको छ । बैंकले सो अवधिमा २ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कात्तिक महिनाको पहिलो दिन बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा बैंकहरुमा १६ अर्ब २९ करोड रुपैयाँ निक्षेप थपिएर ४५ खर्ब ६३ अर्ब पुगेको छ । त्यसैगरी गत महिनामा सुरुवातीमा ४२ खर्ब २० अर्ब रहेको बैंकहरुको कुल कर्जा एक अर्ब २६ करोड रुपैयाँले बढेर ४२ अर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।

तर, चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंकहरुले २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप बढाएका छन् । त्यसैगरी सो अवधिमा बैंकहरुको कर्जा लगानी ४६ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । कात्तिक महिनाको अन्त्यसम्ममा वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८७.१९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।