भगवती स्टील्स उद्योगको आम्दानी साढे एक अर्ब घट्यो


व्यवसायीक घराना एमएस ग्रुप अन्तर्गतको भगवती स्टील्स उद्योगको आम्दानीमा भारी गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेकोमा  सन् २०२२ मा लेखापरीक्षण अघिको आम्दानी १ अर्ब ८३ करोड ५० लाखमा सीमित भएको हो । 

आर्थिक गतिविधि आएको सुस्तताले कम्पनीको आम्दानीमा असर गरेको देखिन्छ । पछिल्लो समयमा पुर्वाधार निर्माण क्षेत्रमा काम हुन सकेको छैन । त्यसले गर्दा पनि कम्पनीको व्यापारमा असर गरेको हो । त्यसका साथै लागत बढेको हुनाले पनि कम्पनीको आम्दानी प्रभावित भएको देखिन्छ । 

उद्योगको सञ्चालन आम्दानीमा कमी आएता पनि वित्तीय सूचांकहरु बलियो देखिएका छन् । उद्योगको सेयरधनीको पुँजी र कर्जाको अनुपात ९गियरिङ रेसियो० ०.६२ रहेको छ । यसैगरी डिप्रिसियसन, अर्मोटाइजेसन, कर, ब्याज र लिज भाँडा अघिको नाफा कुल सञ्चालन आम्दानीको ७.९३ प्रतिशत रहेको छ । उद्योगले लिएको कर्जाको ब्याज भुक्तानी क्षमता ३.७७ गुणा रहेको छ । 

सन् २०२२ को आम्दानीमा कमी आए पनि उद्योगको अर्डर बुक बलियो रहेका कारण आगामी वर्षको आम्दानी राम्रो हुने अनुमान छ । ३ अर्ब ३५ करोड ५० लाख बराबरको अर्डर बूक भएकाले सन् २०२३ मा आम्दानी बढ्ने अनुमान कम्पनीको छ । 

यसैगरी ३ अर्ब ५ करोड ७६ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ नेपालले ट्रिपल बी माइन्स र ए३ रेटिङ गरेको छ । केयर नेपालले ७ करोड ७६ लाख ४० हजार बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ अर्ब ९८ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ । 

सन् १९९१ मा स्थापना भएको भगवती स्टील उद्योगले माइल्ड स्टीलको ब्ल्याक पाइप, ग्याल्भ्यानाइज्ड पाइप, टुबुलार पोल, टेलिस्कोपिक पोल, हट रोइल्ड कोइल, कोल्ड रोइल्ड काृइल, सटर प्रोफाइल, झ्याल तथा ढोकाका फ्रेम, ट्रस, पोल, टावर, सस्पेन्सन, मोटनेरेबल पूल लगायतका सामाग्रीको उत्पादन गर्दै आएको छ । बाराको छातापिपरामा अवस्थित रहेको उद्योगको प्रति वर्ष ८५ हजार ५ सय मेट्रिक टन उत्पादन क्षमता रहेको छ । 

उद्योगका वित्तीय सूचकांक सकारात्मक रहे पनि उद्योगले लगानीकर्ताहरूलाई उच्च लाभांश वितरण गर्दा त्यसको प्रभाव उद्योगको नेटवर्थमा पर्ने देखिएको छ । यसैगरी कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर हुनु उद्योगका चुनौतीहरू रहेका छन् । यसैगरी नेपालमा स्टिल उद्योगहरूको सङ्ख्यामा भएको वृद्धिका कारण बढ्दो प्रतिस्पर्धाको पनि सामना गर्नुपर्ने छ । 

तर उद्योगको व्यवस्थापन समितिमा लामो समय सम्म काम गरेका अनुभवी व्यक्तिहरूको संलग्नता रहेको छ । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा ३० वर्ष लामो अनुभव बटुलेका सुमित कुमार अग्रवाल रहेका छन् । सुमित अग्रवाल एमएस ग्रुपका उपाध्यक्ष समेत हुन ।  

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।