राष्ट्र बैंकले १ अर्ब ५३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, बैंकहरुबाट प्रस्ताव आह्वान

0
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ५३ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा एक वर्षका लागि राख्ने भएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६६ दिन अवधिको लागि १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, ख’ वर्गका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ गरी कुल १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

बैंकले २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्मका लागि सो रकम मुद्दती निक्षेप राख्न बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर १८ गतेसम्ममा बोलकबोल पेश गर्न सूचना जारी गरेको छ ।

सो मुद्दती निक्षेप रकमको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्नेछ भने विभिन्न १५ शर्तहरु समेत तोकिएको छ । 

जसमा निक्षेप लिनको लागि न्यूनतम पूँजी कोष कायम हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, आव २०७८/७९ मा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने लगायतका रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।