दैनिक तरलता सुविधाको राफसाफमा राष्ट्र बैंक लचक, घट्यो हर्जना

0
Shares

नेपाल राष्ट्र बैंकले दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाएको छ । बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ को दोस्रो संशोधन गर्दै दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप एक प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले संशोधन गरेको कार्यविधि अनुसार दैनिक तरलता सुविधाका लागि सहभागी संस्थाले लगातार तीन कार्यदिनसम्म ओभरनाइट सुविधा राफसाफ गर्न नसकेमा तेस्रो कार्यदिनको आर.टि.जि.एसमा कायम रहेको बक्यौता रकम अर्को कार्यदिनको १२ बजेभित्र नगदै भुक्तानी गर्नुपर्नेछ । त्यसरी भूक्तानी गर्दा नगदमै गर्न असमर्थ भएमा यस्तो बक्यौता रकमलाई ९० प्रतिशत बराबर मानी सोको आधारमा शतप्रतिशत बराबरको थप सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागमा धरौटी राखी धितो व्यवस्थापन खातालाई बैंकले कायम गरिदिएको सीमामा ल्याउनु पर्नेछ ।

कार्यविधि अनुसार उक्त बक्यौता रकम भुक्तान नभएसम्म उक्त रकममा बैंक दरमा एक (१) प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ । यस्तो रकम भुक्तानी भएपछि सीमाभन्दा बढीे धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा हुनेछ ।तर संशोधन भन्दा अघि दैनिक तरलता सुविधा उपयोग गरेको रकम तोकिएको समयभित्र फछ्र्यौट गर्न नसकेमा बाँकी रहेको ऋण सापटी रकममा बैंकदरको दोब्बर दरमा दैनिक हर्जाना तिर्नु पर्ने व्यवस्था थियो । यसरी कायम हुने हर्जाना रकम विभागबाट दैनिक रुपमा प्राप्त पत्रानुसार बैंकिङ्ग विभागले सम्बन्धित संस्थाको खाता खर्च गरी असुल गर्ने व्यवस्था थियो ।

केन्द्रीय बैंकले सुरक्षणपत्र धरौटी राख्न नसकेमा साविकको सीमाबाट उपयोग भएको ओभरनाइट सुविधा घटाई नयाँ सीमा कायम गरिने व्यवस्था संशोधित कार्यविधिमा गरेको छ । तर, धितो व्यवस्थापन खाताको सीमासम्म सुविधा उपयोग भई नयाँ सीमा कायम नहुने अवस्थामा दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख छ । यस्तो रकम भुक्तान भएपछि धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा भई साविकको सीमा कायम हुनेछ ।

बक्यौता रकम भुक्तानी हुनु अगावै धरौटीमा रहेको सुरक्षणपत्र परिपक्व भएमा बैंक दरमा थप एक (१) प्रतिशतले हुन आउने ब्याजसहित लेनादेना हिसाव राफसाफ गरिने व्यवस्था कार्याविधिमा रहेको छ । त्यसैगरी कुनै संस्थाले तोकिएको अवधिभित्र ओभरनाइट सुविधा भुक्तानी गर्न नसकेमा बैंकले संस्थाको नाममा राष्ट्र बैंकमा रहेको कुनै पनि खाताको मौज्दातबाट सम्पूर्ण लेना रकम असुल गर्न सक्नेछ । यदि सो मौज्दातले सम्पूर्ण लेना रकम नराखेमा धरौटीमा राखेका सुरक्षणपत्र जफत गरी केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा लिई वा बिक्री गरी असुल उपर गर्न सक्नेछ ।

साथै, बक्यौता रकम पूर्णरुपमा फरफारक नभएसम्म संस्थाको धितो व्यवस्थापन खाता प्रचलित लेखा निर्देशिका तथा बैंकिंग कार्य निर्देशिका बमोजिम रोक्का राखी दैनिक तरलता सुविधा बन्द गरिनेछ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंकदरमा नै हुने व्यवस्था कार्यविधिमा छ । त्यसैगरी आरटीजीएस प्रणालीमा आवद्ध भएका संस्थाले दैनिक तरलता सुविधा धितोको ९० प्रतिशतसम्म पाउने व्यवस्था छ।

बैंकहरू अब अन्धाधुन्ध लगानीमा जाँदैनन्

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।