बैंक अफ काठमाण्डूको मर्जर प्रस्ताव ६५.६१% सेयर प्रतिनिधित्व गर्ने सेयरधनीबाट पारित

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) को साधारण सभामा सहभागी सेयरधनीको संख्या कम्पनी ऐन २०६३ ले तोके अनुसार पुगेन । ऐन अनुसार सामान्य प्रस्ताव पारित गर्नका लागि कम्पनीको ६७ प्रतिशत र विशेष प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीहरुको सहभागिता हुनुपर्छ ।

बैंकले शुक्रबार आयोजना गरेको २८ औ साधारणसभामा सामान्य र विशेष दुबै प्रस्ताव थिए । तर, उक्त दुबै प्रस्तावलाई ६५.६१ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने प्रोक्सी सहितका सेयरधनीहरुले पारित गरेका छन् । साधारणसभामा आफ्नो भनाइ राख्ने क्रममा केही सेयरधनीले सभाको बैंधानिकता नपुगेको भन्दै प्रश्न गरेका थिए । सेयरधनी प्रकास श्रेष्ठको प्रश्नको जवाफ दिँदै कम्पनी सचिव दिपक गौतमले सभामा प्रत्यक्ष र प्रोक्सी मार्फत कुल सेयर संख्याको ६५.६१ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीको सहभागिता रहेको जानकारी दिए ।

साधारणसभामा उपस्थित अंगद राज रायमाझी, उत्तम पाठक, विष्णु पाण्डे लगायतले साधारणसभाको बैधानिकताको प्रश्न गरेका थिए । उनीहरुले सामान्य प्रस्ताव पारित गर्न पनि ६७ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनी सहभागी हुनुपर्ने बताएका थिए । उनीहरुले साधारणसभाको यस्तो सहभागिताले ग्लोबल आइएमई बैंकसंग मर्जर हुने जस्तो विशेष प्रस्ताव पारित गर्न चाहिने ७५ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीको उपस्थीति नभएको भन्दै विरोध समेत गरेका थिए ।

सेयरधनीले सभाको बैधानिकता माथि प्रश्न उठाएपछि बैंक सञ्चालक समिति र व्यवस्थापनले त्यहि ६५.६१ प्रतिशतको तथ्याङक मात्र दियो । त्यसका साथै बैंकले नेपाल राष्ट्र बैंकलाई तीर्नुपर्ने जरिवाना समेत नतिरेको विषयमा पनि लगानीकर्ताले प्रश्न गरेका थिए । त्यसका साथै मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्यूरोका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत बैंक अफ काडमाण्डूले फिर्ता पाएको भए पनि त्यसको क्षतीपुर्ति समेत लिनुपर्ने सेयरधनीले सञ्चालक तथा उच्च व्यवस्थापनलाई सुझाएका छन् ।

बैधानिकतामा प्रश्न उठे पनि सभाले समितिको प्रतिवेदन, वित्तीय विवरण स्वीकृत गरेको छ । त्यसैगरी सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै, बिशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु सभाले पारित गरेको छ ।

दुबै बैंकको मर्जरका लागि गरीएको डीडीएमा महालेखाले औंल्याएको सेयर प्रिमियबाट लाभासं वितरण गर्दा र मर्जरबाट भएको लाभमा कर छली भएको विषयलाई कर दायीत्वमा समावेस नगरेको भएपनि सभाले स्वीकृत गरेको छ । त्यसैगरी अर्थ सचिव कृष्ण हरि पुस्कर (कर्मचारी सञ्चय कोषका अध्यक्ष र नेपाल राष्ट्र बैंकका सञ्चालक) र डीडीएकर्ता सुदर्शन राज पाण्डेले स्वार्थ बाझिने गरी भएका कामलाई नजर अन्दाज गर्दै सभाले मर्जरको प्रस्ताव पनि पारित गरेको छ ।

स्वार्थ समुह हाबी भएपछि ग्लोबल र बैंक अफ काठमाण्डूको मर्जरमा सञ्चय कोष सहमत

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।