सरकारले १३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै


सरकारले १३ अर्ब रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्ने भएको छ । सरकारले साँवा फिर्ता नगर्ने भएपछि नेपाल राष्ट्र बैंक मार्फत नवीकरण गर्न लागेको हो । 

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापनले सरकारी ऋणपत्रको निष्कासन तथा बिक्री गर्छ । सोही अनुसार केन्द्रीय बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको पुरानो ट्रेजरीलाई नवीकरण गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८, ९१, १८२ र ३६४ दिने गरि ४ प्रकारको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ, ९१ दिनको लागि ५ अर्ब रुपैयाँ, १८२ दिने ४ अर्ब र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यस0भन्दा अघि मंसिर १९ गते बोलकबोल गरेको ट्रेजरीमा माग अनुसारको आवेदन नआएपछि केन्द्रीय बैंकले खरिद गरेको थियो । केन्द्रीय बैंकले तीन प्रकारका ट्रेजरी बिल्सको नवीकरण गराउँदा २८ दिनेको औसत बट्टादर ९.५३३४, ९१ दिनेको १०.८३०३ र १८२ दिनेको ११.७५४७ प्रतिशत औसत बट्टादर कायम भएको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।