कात्तिकमा मात्रै १५ करोड डलर विदेशी विनिमय सञ्चिति बढ्यो 


 चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १५ करोड अमेरिकी डलर बराबरको विदेशी सञ्चिति बढेको छ । सीमित वस्तुहरूको आयातमा गरिएको प्रतिबन्ध र रेमिट्यान्स आप्रवाहमा आएको सुधारले विदेशी विनिमय सञ्चितिमा सुधार आएको हो । 

चालु आवको कात्तिकसम्ममा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ६३ करोड पुगेको छ । गत असोज महिनामा यस्तो सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर थियो । 

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिकसम्ममा २.५ प्रतिशतले वृद्धि भई १२४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १०९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७९/८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।