नेपाल एसबिआई बैंकको साधारण सभा आह्वान, लाभांश सहितका यस्ता छन् मुख्य एजेण्डा

0
Shares

नेपाल एसबिआई बैंकले लाभांश र मर्जर प्रस्ताव सहित १५ एजेण्डाहरु राखेर वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत (२९ करोड ४७ लाख ७५ हजार ५९३ दशमलव ३८ रुपैयाँ बराबर) का दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ७.५३ प्रतिशत (७३ करोड ९८ लाख ८६ हजार ७३९ दशमलव ३८ रुपैयाँ बराबर) नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै २९ औं वार्षिक साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने मर्जर वा एक्विजिशन सम्बन्धि सहमति र सम्झौता गर्ने लगायत मर्जर–प्राप्ती गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्नेरगराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्नेछ ।

बैंकको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

सभाका अन्य प्रस्तावहरुमा बैंकको सहायक कम्पनी नेपाल एसविआई मर्चेण्ट बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने रहेको छ ।

सभामा रहेको अन्य प्रस्तावहरुमा स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी सम्बन्धमा (बैंकको सञ्चालक समितिको मिति २०७८ चैत्र ३० मा सम्पन्न ४८३ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान बमोजिम डा. गोपाल प्रसाद भट्टलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको) गरेको निर्णय पारित गर्ने र बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्न गरिएको खर्च १ करोड ४ लाख ३१ हजार ११६ दशमलव ८० रुपैयाँ कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्चलाई अनुमोदन गर्ने रहेका छन् ।

सभा मार्फत बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नम्बर २८, कमलादी, नेपाल कायम गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा अन्य सञ्चालकहरूलाई दिइने बैठक भत्ता वृद्धि गरी क्रमशः १० हजार रुपैयाँ, १५ हजार रुपैयाँ प्रतिबैठक कायम गर्न बैंकको नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गते बुधबार एक दिनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोजअनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा प्रतिनिधित्व जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।