कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्दै

0
Shares

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकीकृत कारोबारका लागि अनुमति पाएसँगै दुई बैंकको संयुक्त कारोबारको मिति पुस १७ गते आइतबारका लागि जुरेको हो ।

यसअघि मंसिर २५ गते सम्पन्न दुबै बैंकको छुट्टाछुट्टै विशेष साधारण सभाले १ बराबर १ सेयर स्वाप रेसियोमा एक आपसमा मर्जर हुने प्रस्ताव पारित गरेका थिए । एकीकृत कारोबार सुरु गर्नका लागि दुबै बैंकको दुई दिन बैंकिङ् सेवा अवरुद्ध हुने भएको छ । पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ शुक्रबार र १६ गते शनिबार सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने उल्लेख छ ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस ८ गते शुक्रबार मर्जर सम्बन्धमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड गाभिने अन्तिम दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु गाभ्ने संस्था कुमारी बैंक लिमिटेडले व्यहोर्ने र सकार्ने गरी गाभ्ने गाभिने (मर्जर) को लागि स्वीकृति प्राप्त भएको थियो ।

दुई बैंकको एकीकृत कारोबार नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त बैंकको नामबाट “कुमारी बैंक लिमिटेड” को नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ । एकीकृत बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नम्बर ०२ टंगालमा रहनेछ ।

मर्जर भएपश्चात् एकीकृत बैंकको चुक्ता पूँजी २६ अर्ब रुपैयाँमाथि हुनेछ । बैंकको निक्षेप ३ खर्ब १ अर्बभन्दा बढी र कर्जा २ खर्ब ७८ अर्बभन्दा बढी हुनेछ । यस्तै शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुनेछ ।

एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहने सहमति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।