चालु पुँजी कर्जा मार्गदर्शन स्थगित नहुने, संशोधनका विषय टुङगो लाग्नै बाँकी

0
Shares

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको विषयमा बैंकर तथा व्यवसायीसंग घनिभुत छलफल चलाए पनि संशोधनका विषयहरु भने टुङ्गो लाग्न सकेका छैनन् । मार्गदर्शन संशोधन भन्दा पनि लागु नै गर्न नहुने व्यवसायीहरुको अडानले जायज तथा व्यबाहारिक कठिनाइको समेत पहिचान हुन नसकेको हो ।

राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनको कार्यान्वयनका क्रममा देखिएका जायज तथा व्यबाहारिक जटिलताहरुको विषयमा बैंकर, उद्योगी तथा व्यपारीसंग छलफल गरिरहेको छ । उद्योगी व्यापारीले चालु पुँजी कर्जा तत्कालका लागि लागु गर्न नहुने माग गर्दै प्रधामन्त्री, अर्थमन्त्री तथा गभर्नरसम्मलाई भेट गरेर आग्रह गर्दै आएका छन् । तर, राष्ट्र बैंक भने लागु भैसकेको मार्गदर्शन कार्यन्वयनका क्रममा देखिएका जटिलतालाई संशोधन गर्न सकिने भएपनि स्थागित नगर्ने अडान मै रहेको छ ।

उद्योगी व्यवसायीले चालु पुँजी कर्जा मागर्दशन स्थागित हुनुपर्ने भनेपनि त्यसो नहुने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । “लागु भइसकेको मार्गदर्शन स्थगित हुँदैन,” ती अधिकारीले भने,“कार्यान्वयनका क्रममा देखिएका जायज र व्यबाहारिक कठिनाइलाई सशोधन गर्न भने सकिन्छ ।”

राष्ट्र बैंकले सबै पक्षहरुलाई मार्गदर्शनका कारण सृजना भएका कठिनाइहरुको बुँदागत सुझाब माग गरेको छ । सोही अनुसार केन्द्रीय बैंकले सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ तथा चेम्बर अफ कर्मसका प्रतिनिधिसंग छलफल गरेको छ । त्यसैगरी मंगलबार बैंकरहरुसंग पनि छलफल गरेको छ । छलफलमा व्यवसायीहरुले मागर्दशन लागु गर्न अझै केही समय पर्खन समेत आग्रह गरेको बताउँदै केन्द्रीय बैंकका ती अधिकारीले भने,“स्थगित हुँदैन, संशोधन गर्नुपर्ने विषयलाई बुँदागत रुपमा दिन भनेपछि उद्योग वािण्ज्य महासंघले मंगलबार केही बुँदाहरु संशोधनका लागि सुझाएको छ ।”

केन्द्रीय बैंकले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बरसंग सोमबार नै छलफल गरेको थियोे । सोमबारको छलफलका आधारमा मंगलबार महासंघले बुँदागत रुपमा लिखित सुझाव दिएको छ । महासंघले चालु पुँजी कर्जा मागर्दशन नयाँ ऋणीका लागि लागु गर्ने भएपनि पुरानाको हकमा अझै समय दिनुपर्ने व्यवस्था गर्न सुझाएको छ । त्यसैगरी महासंघले एकसातासम्ममा शून्य मौज्दात कायम गर्नु पर्ने व्यवस्थालाई हटाउन सुझाएको छ । साथै महसंघले अहिले नविकरण हुने कर्जाको हकमा पनि मार्गदर्शन लागु गर्न नहुने लगायतका सुझाव दिएको छ ।

त्यसैगरी मंगलबार छलफलका लागि राष्ट्र बैंक पुगेका बैंकरहरुले भने केही प्रक्रियागत जटिलताका बारेमा जानकारी दिएका थिए । बैंकहरुले चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण विश्लेषण गर्नुपर्ने व्यवस्थाले जटिलता सृजना गरेको सुझाव केन्द्रीय बैंकलाई दिएका छन् ।

त्यसैगरी उनीहरुले वर्षको एक पटक लगातार ७ दिनसम्म शून्य बक्यौता रहेको तथा कर्जा अवधि लगायतका विषयले बैंकहरुलाई अफठ्यारो बनाएको राष्ट्र बैंकलाइ सुझाएको छलफलमा सहभागि एक बैंकरले बताए । बैंकहरुलाइ ब्यबाहारिक जटिलता के कस्तो छ भनेर छलफलमा बोलाएको हुनाले सोही अनुसार छलफल भयो तर संशोधन गर्ने कुराहरुको विषयमा ठोस निष्कर्स नआएको ती बैंकरले जानकारी दिए ।

उद्योगी व्यवसायीले चर्को विरोध गरेपछि केन्द्रिय बैंकले पछिल्लो तिन दिन देखि चालु पुँजी कर्जा मागर्दशनको विषय मै छलफल गर्दै आएको छ । मार्गदर्शन संशोधनका लागि खुला रहेको र जायज र व्यबाहारीक कठिनाई सृजना गरेको व्यवस्थाहरु संशोधन हुने केन्द्रीय बैंक ती अधिकारीको भनाइ छ । “केन्द्रीय बैंकले व्यवसायीलाई अफठ्यारो पार्न मार्गदर्शन ल्याएको होइन,” उनले भने,“कुन बुँदाले अफठ्यारो पारेको हो त्यसलाई संशोधन गर्न सकिन्छ भनेर भनिरहेका छौ ।”

सरकार परिवर्तन भएकाले मार्गदर्शन संशोधन गर्न लागेको नभई अघिल्लो सरकार हुँदा देखि कै प्रक्रियालाई निरन्तरता दिएको समेत उनले दावी गरे । राष्ट्र बैंकले गत कात्तिक ३० गते नै मागर्दशनको प्रतिक्रिया मागेको थियो । मार्गदर्शन कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्ने काम पुस भित्रै हुने बताउँदै उनले भने,“ बैंकहरुले पनि त्रैमासीक रुपमा आ–आफ्नो एसेसमेन्ट गर्ने भएकाले सकभर पुस भित्रै गर्ने तयारी छ । के के हुने भन्ने विषयमा टुङगो लागेको छैन ।”

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।