नयाँ पोलिसी डिजाइनमा नेपाली बीमा कम्पनीको छैन ध्यान, कपी–पेस्टकै भर

0
Shares

नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा बीमा पोलिसीहरु अरुको कपी गर्ने प्रचलन रहेको छ । कम्पनीहरु आफैँले नयाँ पोलिसी डिजाइन गर्दैनन्, त्यसको विकल्पमा अर्को कम्पनीको पोलिसी कपी गर्दै बिक्री गर्ने गरेको प्राधिकरणले जनाएको छ ।

केही कम्पनीहरुले भारतीय बीमा कम्पनीको पोलिसी जस्ताको त्यस्तै कपी गरेर प्राधिकरणमा अनुमतिको लागि ल्याउने गरेको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।  “कम्पनीहरु यतिसम्म सजिलो खोज्छन् की पोलिसी पनि आफैँले डिजाइन गर्न सक्दैनन्,” उनले भने । कम्पनीहरुले पोलिसी पनि अर्काको कपी गर्छन् र व्यवसाय पनि सरकारले अनिवार्य गरिदेओस् र गरौंला भनेर बस्ने गरेको उनले बताए ।

बीमा पोलिसी भनेको स्थानीय बजारको जोखिम र सेवग्राहीको खरिद गर्न सक्ने क्षमता अनुसारको हुनुपर्छ । जुन अन्य मुलुक र नेपालको परिस्थिति अनुसार फरक हुने प्राधिकरणका अध्यक्ष सिलवाल बताउँछन् । त्यसैले कम्पनीहरुले नेपाली नागरिक, यहाँको जोखिम र आम्दानीको स्तर हेरिकन पोलिसी निर्माण गर्नुपर्ने उनको धारणा छ ।

“कम्पनीहरु आफैँले पनि मेहनत गर्नुपर्छ । जसरी हुन्छ पोलिसी बिक्री गर्ने अनि नाफा कमाउने भन्ने मात्रै सोच्नु भएन । पोलिसी लक्षित वर्गको लागि उपयोगी भयो कि भएन भनेर पनि सोच्नुपर्छ,” उनले भने ।

त्यस्तै, प्राधिकरणका अर्को एक कर्मचारीले बीमा कम्पनीहरुले प्राधिकरणमा प्रमाणीकरण गर्न ल्याउने बीमा पोलिसी अर्का कम्पनीको जस्ताको त्यस्तै कपी पेस्ट गरिएको हुने बताए । “यहाँसम्म की पोलिसी कपी गर्दा कहिलेकाँही कम्पनीको नाम पनि मेटाउन बिर्सिएका हुन्छन् । एउटा कम्पनीले प्रमाणीकरण गर्न ल्याउने बीमा पोलिसीमा अर्को कम्पनीको नाम हुन्छ,” उनले भने । यो भन्दा लज्जास्पद कुरा के होला उनले प्रतिप्रश्न गरे ।

जीवन बीमा कम्पनीहरुले विशेष गरी तीन वटा पोलिसीको आधारमा विभिन्न पोलिसीहरु जारी गर्दै आएका छन् । सावधिक जीवन बीमा, आजीवन जीवन बीमा र म्यादी जीवन बीमा । यिनै पोलिसीलाई आधार बनाएर विभिन्न खालका पोलिसी बनाइँदै आएको छ । जस्तै, बालबालिका जीवन बीमा, दम्पती जीवन बीमा, बाल शिक्षा, मनी ब्याक लगायतका पोलिसी जीवन बीमा कम्पनीहरुले विक्री वितरण गर्दै आएका छन् ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि मोटर, सम्पती, कृषि, इन्जिनिरियङ्ग जस्ता मुख्य बीमा पोलिसी मात्रै बिक्री गर्दै आएका छन् ।
तर, निश्चित वर्ग र क्षेत्रलाई समेट्न गरी नेपाली विषेशता झल्कने खालको पोलिसी कम्पनीहरुले डिजाइन गर्न नसकेको प्राधिकरणको आरोप छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।