प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको आज रातिदेखि सबै सेवा बन्द हुने

0
Shares

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक एक आपस मर्जर भई एकीकृत कारोबारका लागि आज रातिदेखि सबै सेवा बन्द हुने भएको छ । दुई बैंकले पुस २६ गते मंगलबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।

एकीकृत कारोबारका लागि दुबै बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा पुस २२ गते शुक्रबार राति १० बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजेसम्म बन्द हुने दुबै बैंकले जनाएको छन् । पुस २६ गते देखि एकीकृत कारोबार गरिने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि दुबै बैंकबाट दिने सेवा बन्द गरिन लागिएको हो ।

पुस २६ गते गते मंगलबार बिहान ९ः४५ बजेसम्म कोर बैंकिङ सिस्टममा आवश्यक डेटा माइग्रेसनको लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग सेवा समेत बन्द रहने भएको हो । पुस २६ गते बिहान ९ः४५ बजेपछि सम्पूर्ण बैंकिङ्ग सेवा यथावत रुपमा सञ्चालन हुने व्यहोरा उल्लेख गरिएको छ ।

एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।त्यसभन्दा अघि पुस १७ गते आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको थियो । दुबै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने सञ्ंचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने सहमति छ । दुई बैंकको मर्जरपछि ‘प्रभु बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । प्रभुले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ ।

बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि प्रभु बैंककै तर्फबाट हुनेछ । अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने सेञ्चुरीका सीईओ मनोज न्यौपाने डेपुटी सीईओमा रहने सहमति छ । त्यस्तै मर्जपछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ । प्राप्तिपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रूपैयाँ छ । गत आवको नाफाबाट प्रभु बैंकले साढे ६ प्रतिशत बोनस र सेञ्चुरी बैंकले पौने ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेका छन् । बोनस वितरणपछि प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रुपैयाँ र सेञ्चुरी बैंकको १० अर्ब ७७ लाख १९ हजार रूपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।