कार्यकाल लम्बाउन मर्जरको ‘अस्त्र ‘ प्रयोग गर्दै सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड

0
Shares

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले बैंकको नेतृत्व आफूमा कायम राख्न मर्जर नीतिको गलत प्रयोग सुरु गरेका छन् । अध्यक्ष दुगड पुस २९ गते शुक्रबार सञ्चालक समितिको कार्यकाल सकिने भएपछि मर्जरको अस्वभाविक कसरतमा उत्रिएका हुन् ।

सनराइज बैंकको हालको सञ्चालक समितिको चार वर्षे कार्यकाल यही पुस २९ गते शुक्रबार पुरा हुँदैछ । दुगडले बैंकको अध्यक्षको रुपमा दोस्रो कार्यकाल समेत पूरा गरेका छन् । दोस्रो कार्यकाल सकिएसँगै बैंकमा आफ्नो प्रत्यक्ष संलग्नता नहुने भएपछि दुगडले कार्यकाल लम्बाउन तथा आफ्ना कमी कमजोरी लुकाउन मर्जर नीतिको गलत प्रयोगमा सक्रियता देखाएका हुन् ।

पछिल्लो समयमा दुगडले सनराइज बैंककै सञ्चालकहरुको सहमति नजुटाई आफ्नै जोडबलमा लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया सुरु गर्ने अन्तिम चरणमा पुर्याएका छन् । सोमबार लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर गर्ने प्रारम्भिक सम्झौता गर्ने तयारीमा भईरहेको लक्ष्मी बैंक र सनराइज स्रोतले नोटबजारलाई जानकारी दियो । तर, सनराइज बैंकमा हाल अध्यक्षमा मोतिलाल दुगड छन भने सदस्यहरुमा बच्छराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाई, शारदा सर्मा र दिपक नेपाल छन् ।

लक्ष्मी बैंकसँगको मर्जरको लागि अध्यक्ष दुगड सहित दिपक नेपाल र शारदा शर्मा मात्र अध्यक्षले अघि बढाएको अस्वभाविक मर्जर प्रक्रियामा सहमत छन् भने बाँकी सबै प्रक्रिया पूरा गरेर मात्र मर्जरमा जानुपर्ने तर्क सहित लिखित रुपमै फरक मत राखेको अवस्था छ । 

नेपाल राष्ट्र बैंकले सनराइज बैंकको गत आर्थिक वित्तीय विबरण पुस ५ गते स्विकृत गरीसकेको छ । सो अनुसार बैंकले नयाँ सञ्चालक समिति चयन गर्नका लागि साधारणसभा गर्नुपर्नेमा दुगडले आफ्नो अध्यक्ष पद जोगाइ राख्न मर्जरको प्रक्रिया सुरु गरेको स्पष्ट देखिन्छ । सञ्चालक समितिले भने मर्जर प्रक्रिया पुरा गरेर संयुक्त कारोबार नगर्दासम्मका लागि हालकै सञ्चालक समिति रहने गरी निर्णय गरेको सनराइज बैंकका एक उच्च अधिकारीले जानकारी दिए । “सनराइज बैंकले आगामी केही दिनमा विशेष साधारणसभा गर्ने मर्जरको प्रस्ताव पेस गर्ने कुरा छ,” ती अधिकारीले भने, “हालकै सञ्चालक समितिले मर्जर प्रक्रिया पुरा गरेर संयुक्त कारोबार नहुन्जेलसम्मका लागि कायम रहने गरी म्याद थप भएको छ ।”

सनराइज बैंकका अध्यक्षले मर्जर वापत पाइने छुट तथा सहुलियतका लागि मर्जर प्रक्रिया अघि बढाएको देखिँदैन । चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्र केन्द्रीय बैंकले दिँदै आएको छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था छ । सो अनुसार पनि सनराइज बैंक र लक्ष्मी बैंक दुबैलाई मर्जर बापत राष्ट्र बैंकबाट पाइने छुट तथा सहुलियत नपाइनेमा पक्का छन् । त्यसका लागि राष्ट्र बैंकसँग अनुरोध गरिने समेत ती अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले सहुलियतका सम्बन्धमा पुस मसान्तसम्मका लागि गरेको व्यवस्थामा परिमार्जन गर्नेमा आफूहरु आशावादी रहेको पनि उनले बताए ।

अध्यक्षले आफ्ना विश्वास पात्र दुगड ग्रुपका कर्मचारी तथा बैंकका लेखापरिक्षण समितिका संयोजक समेत रहेका दिपक नेपाललाई मर्जर कमिटिको सदस्यमा राखेका छन् ।

नेपाल सर्वसाधरण सेयरधनीको तर्फबाट बैंकको सञ्चालक छन् । उनी बैंकको लेखापरिक्षण समितिमा समेत संयोजक थिए । तर, बैंकका अध्यक्ष दुगडले पुस २१ गतेको सञ्चालक समितिबाट मर्जर समिति गठन गरेका छन् । सोही दिन सञ्चालक समितिले लेखापरिक्षण समितिको संयोजकबाट दिपक नेपालको राजीनामा  स्वीकृत समेत गरेको छ ।

पुस २१ गतेको सञ्चालक समितिको निर्णयमा मर्जर समिति गठन प्रक्रिया र समितिको विषयमा एक सञ्चालकले ‘नोट अफ डिसेन्ट’ नै लेखेको बैंक व्यवस्थापनका एक उच्च अधिकारीले नोटबजारलाई बताए । यस्तो अवस्थामा अध्यक्षले सहमति जुटाउने प्रयास नगरी एकोहोरो रुपमा अघि बढको बैंक स्रोतको भनाई छ । त्यसका साथै बैंकका ५० प्रतिशत सञ्चालकले लक्ष्मी बैंकसँग १ः१ को स्वाप अनुपातमा मर्जरमा जान नहुने तर्क राख्दै आएका छन् ।

लक्ष्मी बैंकको तुलनामा सनराइज बैंकको नेटवर्थ उच्च रहेको छ भने चुक्ता पुँजीका दृष्टिकोणमा लक्ष्मी बैंकको धेरै छ । हाल सनराइज बैंकको नेटवर्थ प्रति सेयर १६४ रुपैयाँ छ भने लक्ष्मी बैंकको १५०.७३ रुपैयाँ रहेको छ । त्यसैगरी सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चूक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।