संसदमा भन्दा सेयर बजारमा चर्को राजनीति, सरकारले भारी विश्वासको मत पाउँदा सूचक किन घट्यो ?

0
Shares

संसदमा भन्दा सेयर बजारमा चर्कौ राजनीति देखिएको छ । बजारका ठूला तथा टाठा लगानीकर्ताहरुले साना तथा मझौला लगानीकर्तामाथि राजनीति खेल्दा मंगलबारको बजारले करिब १०० अंकको उतार–चढाव ब्यहोरेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्राधनमन्त्रीलाई विश्वासको मत दिएपनि यसअघि निरन्तर बढोत्तरी आइरहेको बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट आएको हो । जुन लगानीकर्ताले कल्पना पनि गरेका थिएनन् । सबै दलले विश्वासको मत दिएर एक ठाउँमा आउँदा बजारका लगानीकर्ताको आत्मबल वृद्धि हुनुपर्नेमा कर्जा लिएर ऋण लिने सेयर बजारमा लगानी गरेका लगानीकर्ताले सेयर बिक्री गर्दा त्यसको नकारात्मक प्रभाव बजारमा परेको हो ।

नवनिर्वाचित प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यक्रम थियो । तर सत्ता गठबन्धनबाट ‘रिङ आउट’ भएको नेपाली कांग्रेसले पनि संविधान रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिँदै गर्दा भने मंगलबार चर्को राजनीति हुँदा सेयर बजारमा अस्वभाविक रुपमा उच्च अंकको गिरावट आएको छ । संसदमा भन्दा धेरै चर्को राजनीति भएको मंगलबारको बजारमा टाठाबाठा लगानीकर्ताहरु राहत पाएका छन् भने नवप्रवेशी तथा सझौला लगानीकर्ताको लगानी भने होल्ड हुने देखिएको छ ।

बजारका अनुभवी तथा टाठाबाठा लगानीकर्ताहरुले आम लगानीकर्तामाथि राजनीति खेल्दा मंगलबारको बजारमा ९९.४२ अंकको उतार–चढाव आएको थियो । मध्याह्न १२ः३९ बजे नेप्से ६५.८४ अंकको उच्चतम बिन्दुसम्म बढेर २२७७.६१ बिन्दुसम्म पुगेको थियो । तर इन्ट्रा डे कारोबारमा दिउँसो १ः५५ बजे बजार सूचक नेप्से उच्चतम ३३.५८ अंकसम्म घट्न पुग्दा २१७८.१९ अंकससम्म थियो । अन्त्यमा बजार सूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेर बन्द भएको छ ।

नयाँ सरकार गठन भएपछि पुस १० गते यतामात्रै सोमबारसम्म ३४४ अंकको बढोत्तरी भएको थियो । मंगलबार इन्ट्राकोबोत्तरी सहित नेप्सेमा ४१० अंकको बढोत्तरी भएको छ । नजिकिँदो पुस मसान्त र घट्दो बजारमा लगानी फसेका ठूला लगानीकर्ताहरुले ऋणको साँवा तथा ब्याजबाट आफुहरु निष्कनका लागि पनि बजार बढाउन अनिवार्य जस्तै थियो । त्यसैले नयाँ सरकार गठनयता नेप्सेमा कारोबार भएको १२ दिनमा २ दिन मात्रै नेप्से झिनो अंकले घटेको थियो भने पाँच कारोबार दिन ४० अंक धेरैले नेप्से बढेको थियो ।

नेकपाका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको यसअघिका ट्रयाक रेकर्डको हवाला दिँदै ठूला लगानीकर्ताहरुले सुरुवाती दिनमा खरिद कार्यलाई निरन्तरता दिए । जसले आधा वर्ष धेरै अधिदेखि बन्द रहेका लगानीकर्ताहरुको कारोबार खाता पनि विस्तारै सुचारु भए । यसरी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश भएपछि बजार सूचकसँगै कारोबार रकममा पनि निरन्तर बढोत्तरी आयो । यहि मौकामा ठूला लगानीकर्ताहरुले मंगलबारको बजारमा प्रोफिट बुकिङ्ग गरेका हुन् । उच्च कारोबार गरेका दश ब्रोकर हेर्दा ७ ब्रोकरबाट खरिदभन्दा धेरै बिक्री भएको छ । तीन ब्रोकरको मात्र बिक्रीभन्दा खरिद रकम धेरै छ । यसले पनि ठूला लगानीकर्ताहरुले ऋणको साँवा तथा ब्याजको जोहो गरेको देखिन्छ ।

सुरुको डेढ घण्टा अवधिमा करिब ६६ अंकले बढाएर ठूला लगानीकर्ताले पुस मसान्तमा तिर्नुपर्ने आफ्नो कर्जाको साँवा तथा ब्याजका लागि मंगलबार सरकारले विश्वासको मत लिने दिनको छेको पारेर बजारबाट प्रोफिट बुकिङ्ग गरेका हुन् । ठूला लगानीकर्ताहरुले बजार उच्चतम बिन्दुमा पु¥याएर नाफा सुरक्षित गर्दै गर्दा बजार अझै बढ्ने आशामा मंगलबारको बजारमा लगानी गरेका नयाँ लगानीकर्ताहरुले भने पुसको चिसोमा ठण्डा पानीले नुहाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तथा लगानीकर्ता तुलसीराम ढकालले बजारमा आउने घटबढ समान्य प्रकृया भएको भन्दै धेरे लगानीकर्ताहरुले अहिले पनि सेयर बिक्री नगरेको बताए । घट्दै बढेको बजार परिपक्क बन्दै जाने बताएका उनले अहिलेको सरकार सबैभन्दा शक्तिशाली भएको र सोमबार सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रमले पनि पुँजी बजारलाई उच्च महत्व दिएका कारण बजारमा त्यसको प्रभाव परेको बताए । नजिकिँदो पुस मसान्तका कारण कर्जा लिएर लगानी गरेका केही लगानीकर्ताले प्रोफिट बुकिङ्ग गरेको भएपनि अबको तीन महिनासम्म लगानीकर्तालाई ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने हुँदा बजारले थप गति लिनसक्ने सम्भावना भने कायम नै रहेको उनी बताउँछन् ।

नोटबजारसँगको कुराकानीमा ढकालले भने, “बजारमा धरै पहिलेदेखि डाउन ट्रेण्डमा रहेको थियो । यसबीचमा बजार १८०० बिन्दुसम्म झरेको थियो । अहिले २२ सय हाराहारीमा रहेको छ । यो धेरै वृद्धि होइन । सरकारको नीति तथा कार्यक्रमको प्रभाव पनि सेयर बजारमा परेको छ । अहिले शक्तिशाली प्रधानमन्त्री नियुक्ती हुनु भएको अवस्था छ । अबको दिनमा बजार अझै परिपक्क भएर अगाडि बढ्ने देखिन्छ ।”

बिहीबारदेखि बजारमा ५ अर्ब माथिको कारोबार हुँदै आएकोमा ठूला लगानीकर्ताले सेयर बिक्री गर्दा मंगलबार कारोबार रकम ७ अर्ब ६५ करोड माथि पुगेको हो । यो कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च कारोबार हो । यसअघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

मंगलबारको बजारमा २५४ कम्पनीका २ करोड ८ लाख ४३ हजार ९५८ कित्ता सेयर कारोबार भएका छन् । कुल १ लाख ९ हजार ९६७ वटा संख्यामा भएको भएको खरिद बिक्रीबाट कारोबार रकम ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५८० रुपैयाँमा समेटिएको छ ।

मंगलबारको बजारमा ङादी ग्रुप पावरको सर्वाधिक २१ करोड २१ लख बढीको सेयर खरिद बिक्री भएको छ । यस्तै अपि पावर २० करोड ६७ लाख, रिडी पावर १८ करोड १५ लाख, एनआईसी एशिया बैंकको १६ करोड ७२ लाख र शिवम् सिमेन्टसको १६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै शीर्ष पाँचभित्र समेटिएका छन् ।

आजको बजारमा बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर ३१२.७० रुपैयाँमा पुगेको छ । यस्तै सिंगटी हाइड्रोपावर ८.४५, वीन नेपाल लघुवित्त ८.४५, खानीखोला हाइड्रोपावर ६.५१ प्रतिशत र बरुण हाइड्रोपावरको ४.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

उता मंगलबारको बजारबाट तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले घटेर ४३८.४० रुपैयाँमा झरेको हो । बुद्धभुमी नेपाल हाइड्रोपावरको ७.४७, रिभर फल्स पावर लिमिटेड ६.८३, पोखरा फाइनान्स ६.३५ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले पनि आजको बजारबाट ६.२५ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।