निक्षेपको ब्याजदर घटाएर ११% कायम गर्न बैंकरहरु सहमत, अध्यक्षमा सुनिल केसी निर्विरोध

0
Shares

नेपाल बैंकर्स संघको अध्यक्षमा कार्यबाहक अध्यक्ष सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको संघको विशेष साधारणसभाले केसीलाई नयाँ अध्यक्षमा र उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो ।

विषेश साधारणसभा संगै कार्यकारीणी समितिको बैठक समेत सम्पन्न भएको छ । कार्यकारी समितिको बैठकले माघ महिनाका लागि ब्याजदर समेत घटाउने निर्णय गरेको छ । संघले माघ महिना देखि निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशतमा झारेको हो । पुससम्मका लागि बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३३ र संस्थागत निक्षेपमा १०.१३३ प्रतिशत ब्याज लिदै आएका छन् ।

बजारको अवस्था अनुसार ब्याजदर घटाउने निर्णय भएको एक बैंकरले जानकारी दिए । “कर्जाको माग पनि छैन,” ती बैंकले भने,“तरलताको अवस्था पनि सहज भएको र कर्जाको माग पनि नभएकाले ब्याजदर घटाउन बैंकरहरु सहमत भएका हुन ।”

उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडकमा उत्रेपछि बैंकहरुलाई ब्याजदर घटाउन थप दबाव परेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदर ८.५ प्रतिशत नै कायम राख्यो । तर, बैंकहरुको कर्जा निक्षेप ब्याजदर अन्तर(स्प्रेड) ०.४ प्रतिशत विन्दुले घटाएको थियो । केन्द्रीय बैंकले स्प्रेड घटाउदा समेत ब्याजदर नघटाएका बैंकरहरुले माघ महिनाका लागि भने घटाएका हुन ।

बैंकहरुका निक्षेप थपिने र कर्जा प्रबाह रोकिँदा अन्तर बैंक दर घटेर ६.८६ प्रतिशतमा झरेको छ । त्यसैगरी बैंकसंग बक्यौता स्थायी तरलता सुविधा छैन । त्यतीमात्र नभई बैंकहरुले पुस १७ गतेदेखि स्थायीत तरलता सुविधा नै लिएका छैनन । ट्रेजरी बिल्सको रेट पनि घट्दै आएको छ । पछिल्लो समयमा निरन्तर निक्षेप बढ्ने क्रम जारी छ । हाल वित्तीय प्रणालीको कुल निक्षेप नै ५३ खर्ब भन्दा माथि पुगेको छ ।

बैंक वित्तीय संस्थाको मंसिर महिनाको कर्जा निक्षेप अनुपात पनि ८६.६५ प्रतिशतमा झरेको छ । पुस मसान्तसम्ममा बैंकहरुले भुक्तानी गर्नु पर्ने पुनरकर्जा पनि धेरै नभएको अवस्था छ । साथै स्थानीय तहको पैसालाई आगामी असारसम्म नै ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाइने भएको छ ।

बैंकहरुले निक्षेप बढेको भएपनि पुस महिनामा भुक्तानी धेरै गर्नुपर्ने भएकाले ब्याजदरलाइ चलाएका थिएनन । अधिक भूक्तानी भएको खण्डमा बैंकिङ प्रणालीको तरलताको समस्या आउन सक्ने भएकाले पुसको महिनालाई हेरेर माघमा निर्णय गर्ने सहमती बैंकहरु बीच भएको थियो ।

बैंकहरुले गत असोजमा बढाएको ब्याजदरलाई नै पुससम्म निन्तरता दिएका थिए । तर, विकास बैंक र फाइनान्स कम्पनीले भने मंसिर महिनाको ब्याज घटाएका थिए । पुस महिनाका लागि भने वाणिज्य बैंक मात्र नभई विकास बैंक र फाइनान्स कम्पनीले पनि यथावत राखेको थिए ।

पुस अन्तिसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र साधारण बचतमा ९.१३३ प्रतिशत ब्याजदर दिँदै आएका थिए । विकास बैंकहरूले निक्षेपमा १२.८५ प्रतिशत ब्याजदर रहेका छ भने संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन ।

त्यसैगरी वित्त कम्पनीहरूले तीन महिने मुद्दतीको ब्याजदर १३ प्रतिशत र एकवर्षे मुद्दतीको ब्याजदर १३.३० प्रतिशत कायम गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले भने ब्याजदर घटाउने बढाउने सन्दर्भमा कुनै निर्णय गरीसकेका छैनन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।