चालु खाता घाटा साढे २ अर्बले बढ्यो, शोधनान्तर स्थितिमा २६ अर्बकाे सुधार

0
Shares

मुलुकको चालु खाता कार्तिकको तुलनामा मंसिरमा साढे २ अर्बले बढेको छ भने शोधानान्तर स्थीतिमा पनि अघिल्लो महिनाको तुलनामा मंसिरमा करिब २६ अर्बले सुधारिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म मुलुकको चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कार्तिकमा यस्तो घाटा ३५ अर्ब ४० करोड रहेको थियो । सरकारले बैशाखदेखि लागाउँदै आएको दश वस्तुकाे आयात प्रतिबन्धमध्ये कुरकुरे, कुरमुरे, लेज र यस्तैखाले अन्य उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध भदौ मसान्तदेखि नै हटाउने निर्णय गरेको थियो ।

भदौ मसान्तदेखि हटाएको प्रतिबन्धीत वस्तुहरुको आयात बढेसँगै देशको चालु खाता साढे २ अर्बले बढेको हो । यद्यपी गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध भने मंसिर मसान्तपछि हटेको छ । ती चार वस्तुहरुको आयातको प्रभाव भने अर्को महिनाको तथ्याङ्कमा मात्र देखिनेछ ।

मुलुककको चालु खाता अघिल्लो वर्ष २०७८ मंसिरमा २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोड अमेरिकी डलर घाटामा रहेको चालु खाता समीक्षा अवधिमा सुधार भइ २९ करोड ७२ लाख डलरले मात्र घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर र खुद प्रत्यक्ष वैदेशिक लगानी दुबै घटेको छ । मंसिर अन्त्यसम्म पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी७ अर्ब ७ करोड रहेको थियो ।

व्रिप्रेषण आप्रवाह सुधारिँदा चालु खाता घाटा बढेपनि कार्तिकको तुलनामा मंसिरमा शोधनान्तर स्थिति २५ अर्ब ८४ करोडले सुधारिएको छ । कार्तिकमा २० अर्ब ३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति मंसिरमा बढेर ४५ अर्ब ८७ करोड पुगेको हो । २०७८ मंसिरमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा पुगेको छ । कार्तिक मसान्तसम्म अमेरिकी डलरमा १४ करोड ९६ लाखले शोधनान्तर स्थिति बचतमा रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।