सरकारले राजस्व उठाएपछि रित्तियो बैंकिङ प्रणाली, रिपो मार्फत भरथेग गर्दै राष्ट्र बैंक

0
Shares

सरकारले पुसमसान्तमा राजस्व उठाएपछि वित्तीय प्रणालीमा तरलता कसिलो अवस्थामा पुगेको छ । बैंक/वित्तीय संस्थाबाट बुधबार मात्र सरकारी ढुकुटीका ८४ अर्ब रुपैयाँ गएपछि तरलताको अवस्था नकारात्मक भएको हो ।

सरकारले पुसमसान्तमा कर उठाउने भएपछि वित्तीय प्रणालीका तरलतामा दबाब पर्ने भन्दै राष्ट्र बैंकले पुस १४ गते ४५ दिनको ५० अर्ब रुपैयाँको दिर्घकालिन रिपो जारी गरेको थियो । सो रिपोले सरकारी राजस्व संकलनमा सहयोग गर्यो । तर, सरकारले राजस्व उठाएर ढुकुटीमा रकम थन्काएपछि वित्तीय प्रणाली रित्तो भएको हो।

मंगलबार मात्रै सरकारी ढुकुटीमा ८४ अर्ब रुपैयाँ गएको छ । त्यसले वित्तीय प्रणालीको तरलता एक अर्ब ४६ करोडले नकारात्मक रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । बैंक/वित्तीय संस्थामा निक्षेप बढेको र तलताको अवस्था सहज भएको देखिनु पनि केन्द्रीय बैंकको दिर्घकालिन रिपोको भुमिका हो ।

त्यतिमात्र नभई दीर्घकालिन रिपोका कारण बैंकहरुको अन्तर बैंक कारोबारको ब्याजदर समेत घटेर मंगलबारसम्ममा साढे ५ प्रतिशतको हाराहारीमा आएको थियो । बुधबार नै त्यो बढेर सात प्रतिशत भन्दा माथि पुगेको छ । एक दिनको अवधिमा अन्तर बैंकदर २ प्रतिशत विन्दुले बढेको अवस्थाले पनि वित्तीय प्रणालीमा तरलताको अवस्था जटिल छ भन्ने स्पष्ट हुन्छ ।

सरकारले राजस्व संकलन गर्ने खर्च नगर्ने र बैंकहरुले ब्याजदर घटाएको अवस्थामा बैकिङ प्रणालीका तत्काल पैसा आउने सम्भावना समेत न्यून देखिन्छ । त्यसले गर्दा पनि तरलता समस्या जटिल नहोस भनेर केन्द्रीय बैंकले बिहीबार १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो । सरकारले खर्च नगर्ने तर, आन्तरिक ऋण तथा राजस्व मार्फत पैसा लगेर ढुकुटीमा राखीराख्ने गरेको छ । त्यसले गर्दा पनि बैंकिङ प्रणालीमा तरलताको समस्या बारम्बार देखिने गरेको छ ।

मंगलबारसम्ममा सरकारी ढुकुटीमा ८४ अर्ब गएको भएपनि सरकारी राजस्व अझै पनि ४८ अर्बले नाकारात्मक रहेको अवस्था छ ।

पुस १४ गतेको ५० अर्बको रिपोका कारण यो राजस्व संकलन सम्भव भएको बताउँदै केन्द्रीय बैंकका ती अधिकारीले भने,“बिहीबार १० अर्ब रुपैयाँ प्रणालीमा पठाउदा पनि तरलताको अवस्था कसिलो नै हुन्छ । यो अवस्था पुस अन्तिममा देखिनु पर्ने हो सार्वजनिक विदाका कारण बुधबारसम्म आइपुगेको उनको भनाई छ ।

तरलता समस्या सम्बोधन गर्न संरचनागत सुधारमा राष्ट्र बैंक, ५० अर्बको दीर्घकालिन रिपो

सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा चालु खर्चका लागि समेत आन्तरिक ऋण लिनु परेको अवस्था छ । सरकारले आन्तरिक ऋण पनि उठाइरहने र राजस्व पैसा पनि खर्च नगर्ने गर्दा वित्तीय प्रणाली झनै तरलताको संकटमा फस्ने स्पष्ट छ । त्यसका साथै व्यवसायीको चौतर्फी दबाबपछि बैंकहरु निक्षेपको ब्याजदर समेत घटाएपछि प्रणालीको तत्काल पैसा आउने अवस्था छैन । त्यसक लागि सरकारले खर्च बढाउनु पर्ने अवस्था छ । त्यसका लागि आगामी दिनमा सरकारी खर्चको अवस्था कस्तो हुन्छ भन्नेले तरलताको अवस्था निर्धारण हुन्छ।

त्यसैले वित्तीय प्रणालीको नकारात्मक रहेको तरलताको अवस्थालाई सकारात्मक बनाउनका लागि केन्द्रीय बैंकले १० अर्बको रिपो जारी गर्न लागेको हो । बैंकले रिपो मार्फत १४ दिनका लागि उक्त रकम वित्तीय प्रणालीमा पठाउने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।