तरलता समस्या सम्बोधन गर्न संरचनागत सुधारमा राष्ट्र बैंक, ५० अर्बको दीर्घकालिन रिपो

0
Shares

वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधानका लागि राष्ट्र बैंकले संरचनागत सुधारको पहल सुरु गरेको छ । बैंकले लामो समयदेखि तरलता अभावको समस्या कायम रहेपछि त्यसलाई सम्बोधन गर्न दिर्घकालिन रिपो प्रयोग गर्ने भएको हो ।

केन्द्रीय बैंकले वित्तीय क्षेत्रको तरलताको समस्या जटिल बन्दै जाँदा अल्पकालिन रिपो मार्फत बजारमा पैसा पठाउथ्यो । तर, लामो समयसम्म एउटै समस्या रहेको खण्डमा संरचनागत सुधारको कदम चाल्ने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । “सोही अनुसार तरलताको समस्या लामो समयसम्म रहेको हुनाले समाधानका लागि दिर्घकालिन रिपो मार्फत बजारमा ५० अर्ब पठाउन लागेको हो,” ती अधिकारीले भने,“राष्ट्र बैंकले दिर्घकालिन रिपो निष्कासन गर्ने निर्णय बुधबार राष्ट्र बैंक खुला बजार सञ्चालन समितिले गरेको हो ।”

गत वर्ष देखि निरन्तर तरलता अभावको समस्या रहेका बैंक वित्तीय संस्थाले गत मंसिरदेखि केही सहज महसुश गरेको अवस्था छ । तर, पनि बैंकहरुले कर्जा लगानी गर्न भने सकिरहेका छैनन् । कर्जा लगानी नहुनुमा निक्षेपको कमी मात्र नभई उच्च ब्याजदरका कारण पनि माग नभएको बैंकरहरुले बताउने गरेका छन् ।

गत मंसिरदेखि बैंकिङ प्रणालीमा निक्षेप थपिएको भएपनि पुनकर्जा परिपक्क हुने, पुसमसान्तमा सरकारले पहिलो किस्ता कर उठाउने भएकाले तरलतामा पुनः दबाब पर्ने त्रास बैंकरहरुमा छ । त्यसका साथै सरकारले चालु खर्चका लागि समेत आन्तरिक ऋण उठाइरहेको अवस्था छ । त्यसले गर्दा तरलतामा थप दबाव पर्ने अवस्था छ ।

पुनरकर्जा र करका कारण तरलतामा दबाव पर्न सक्ने भएकाले दिर्घकालिन समाधानका लागि केन्द्रीय बैंकले ४५ दिन अवधिको ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने निर्णय गरेको ती अधिकारीको भनाई छ । त्यसका साथै सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको रकमलाई बैंकहरुले ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाउने व्यवस्था आगामी असारसम्म थप गरेको छ । राष्ट्र बैंकको दिर्घकालिन रिपो र स्थानीयतहको पैसालाई ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले तरलता सहज हुन सुहयोग हुने उनले बताए । “खुला बजार सञ्चालन कार्याविधि लागु भएदेखि दिर्घकालिन रिपो जारी गरेको पहिलो पटक हो,” ती अधिकारीले भने ।

कार्यविधि अनुसार वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको न्यून तरलताको अवस्था समितिलाई लागेमा संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन रिपो बोलकबोल कारोबार मार्फत तरलता प्रवाह गर्न सक्नेछ। यस्तो कारोबार गर्दा नेपाल राष्ट्र बैंकले काउण्टरपार्टीहरूसँग रहेका योग्य सुरक्षणपत्र निश्चित अवधिका लागि खरीद गरी तरलता प्रवाह गर्नेछ । दीर्घकालीन रिपो बोलकबोल सञ्चालन गर्दा ग्राह्य सुरक्षणपत्रको प्रयोग हुन्छ ।

सुरक्षणपत्रको मूल्यको अधिकतम ९० प्रतिशत रकम मात्र रिपो सुविधा वापत प्राप्त हुने व्यवस्था कार्यविधिमा उल्लेख छ । त्यसैगरी बिहीबार निष्कासन हुने दिर्घकालिन रिपोको ब्याजदर पनि बोलकबोल मार्फत नै निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि पुस ७ गते जारी भएको १४ दिने अल्पकालिन रिपोको ब्याजदर ८.३३९० प्रतिशत कायम भएको थियो । यो औसत ब्याजदर बैंकदर अर्थत एसएलएफ रेटको हाराहारी नै हो ।

बिहीबार बोलकबोल हुने रिपो २०७९ माघ २९ गते परिपक्व हुनेछ । यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई पुस मसान्तसम्म तरलता व्यवस्थापन गर्न सहज होस् भनेर दिर्घकालिन रिपो जारी गरेको हो । यसले वित्तीय प्रणालीमा देखिएको समस्या आगामी माघ महिनामा पनि सहज नभएको खण्डमा केन्द्रीय बैंकले पुन दिर्घकालिन औजारलाइ प्रयोग गर्ने स्पष्ट भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।