अर्थतन्त्र सकारात्मक उन्मूख देखिएपछि आयातमा ‘नगद मार्जिन’ हट्यो

0
Shares

अर्थतन्त्रका सुचकहरु सकारात्मक उन्मूख देखिएपछि केन्द्रीय बैंकले आयातमा गरेको नगद मार्जिनको व्यवस्था हटाएको छ । अर्थतन्त्रको बाह्य अवस्थामा दबाब परेपछी राष्ट्र बैंकले करिब १३ महिना अघि लगाएको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो।

नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि आयात नियन्त्रण गर्न नगद मार्जिनको वयवस्था गरेको थियो । त्यतीमात्र नभई सरकारले नै गत बैंशाख देखि मंसिरसम्ममा महंगा तथा विलासी बस्तुहरुको आयात नै रोक लगाएको थियो ।

आयातमा रोक र नगद मार्जिनको व्यवस्थाले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव परेको छ । त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएपछि शोधनान्तर स्थिती समेत सकारात्मक देखिएपछि केन्द्रीय बैंकले आयातमा गरेको नगद मार्जिनको व्यवस्था समेत हटाएको हो ।

आयातमा गरीएको नियन्त्रणलाई लिएर उद्योगी व्यवसायीहरुले चौतर्फि विरोध गर्दै आएका थिए । साथै व्यवसायीहरुले आयात प्रतिवबन्ध खुलाउने र नगद मार्जिनको व्यवस्था हटाउन शक्ती केन्द्रहरु धाउने गरेका थिए । नयाँ सरकार आएसंगै व्यवसायीको दबाबले पनि उक्त नगद मार्जिनको व्यवस्था हटाउन केही मद्दत गरेको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकले २०७८ माघमा विभिन्न ४७ वस्तुहरुको आयातमा ५० देखि शतप्रतिशत नगद मार्जिन व्यवस्था गरेको थियो । गाडी, मदिरा, ल्वाङ, मिठाई, फर्निचरका सामान तथा सौन्दर्य साधन, मासु तथा माछा, आयातकर्ताले शतप्रतिशत मार्जिन राख्नु परेको थियो ।

राष्ट्र बैंकका अनुसार गत मंसिरसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

त्यसैगरी आयात २०.७ प्रतिशतले तथा निर्यात ३४.६ प्रतिशतले घटेको छ । त्यसैगरी कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

मंसिरसम्म विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । देशको शोधनान्तर स्थिति पनि ४५ अर्ब ८७ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति समेत १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ । आर्थतन्त्रका सूचकहरुमा सुधार देखिपछि केन्द्रीय बैंकले आयातको नगद मार्जिन हटाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।