उत्पादित सबै विद्युतको बजारीकरणका लागि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन इप्पानको माग


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन माग गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी इप्पानले हालको प्रणालीले मात्र विद्युत बिक्री हुन नसक्दा विद्युत खेर फाल्नु परेको भन्दै निजी क्षेत्रलाई अनुमति दिन माग गरेको हो ।

निजी क्षेत्रका कारण उत्साहजनकढंगले ऊर्जा उत्पादन भइरहेको अवस्थामा नयाँ चुनौतिहरु देखा परेको भन्दै इप्पानले खपत व्यवस्थापनमा जोड दिएको हो । गएको बर्षा याममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरुले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले बिभिन्न बाहनामा खरिद नगरेको आरोप पनि इप्पानले लगाएको छ ।

“जसका कारण करिब २ अर्व रुपैया बराबरको बिद्युत खेर गयो भने निजी आयोजनाहरुले ठूलो आर्थिक नोक्सानी ब्यहोर्न बाध्य भए”, इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, “जव कि तत्कालीन अवस्थामा करिब २२ सय मेगावाट मात्र प्रणालीमा जोडिएको अवस्था थियो । चालु बर्षमा करिब ८ सय मेगावाट प्रणालीमा थपिएर करिब ३ हजार मेगावाट पुग्दैछ । यसले आगामी बर्षा याममा बिद्युत खेर जाने समस्या झन भयावह हुने देखिन्छ । यो समस्याको सिर्जना हुनुको मूल कारण बिद्युत ब्यापारको लागि निजी क्षेत्रलाई अनुमति पत्र नदिनु हो ।”

निजी क्षेत्रलाई बिद्युत खरिद, बिक्रीको लागि सरकारले ढोका खोलिदिने हो भने आफूले उत्पादन गरेको बिद्युतको आन्तरिक खपत र बाह्य ब्यापारको लागि निजी क्षेत्र तयार रहेको उनले बताए । “यो एजेण्डा ईप्पानले बिगत केही बर्षदेखि मूल एजेण्डाका रुपमा उठाउँदै आए पनि निस्कर्षमा पुग्न सकेको छैन”, उनले भने ।

नयाँ ऐन जारी गर्ने प्रक्रिया केही लामो हुने हुदा सरकारले मन्त्री परिषदबाट पारित गरेर बिद्युत ब्यापारको लागि निजी क्षेत्रलाई अबिलम्ब अनुमति दिन इप्पानले आग्रह गरेको छ । ईप्पानको पहलमा चार बर्षअघि स्वतन्त्र ऊर्जा उत्पादकहरुले नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी स्थापना गरेर बिद्युत ब्यापारको लागि तयारी अवस्थामा बसेको इप्पानले स्मरण गराएको छ । यसलाई सहयोग पु¥याउन नेपाल सरकार ऊर्जा बजार बिस्तारका लागि आक्रमक हुनपर्ने आवश्यकतामा पनि इप्पानले जोड दिएको छ ।

यसैगरी नेपाल बिद्युत प्राधिकरणले सौर्य बिद्युतको लागि बोलकबोलको अधिकतम दर ५.९४ रुयैयाँ खरिद दर निर्धारण गरेको छ । यो दर समय सापेक्षित नभएको र यो दरले सौर्य आयोजनाहरु निर्माण गर्न नसकिने भएको भन्दै इप्पानले सौर्य बिद्युतको दर पुनरावलोकन गर्न उर्जामन्त्री लिङग्देनसँग आग्रह गरेको छ ।

साथै इप्पानले १ हजार ५०० मेगावाटसम्मको नदी प्रवाही जलविद्युत आयोजनाहरुको बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने विद्युत प्राधिकरणको निर्णयको स्वागत गरेको छ ।

सबै प्रक्रिया पुरा गरेर नेपाल बिद्युत प्राधिकरणमा २४० ओटा परियोजनाहरुले ११ हजार ७१६ मेगावाट बराबरको पीपीएका लागि आबेदन गरेका छन् । तर बिगत चार बर्षदेखि आरओआर आयोजनाहरुको पीपीए रोकिँदा समग्र ऊर्जा क्षेत्र संकटग्रस्त अवस्थामा पुग्नुको साथै नेपालमा समग्र लगानीको वाताबरण छैन भन्ने सन्देश प्रवाह हुने अवस्थामा पुगेका बेला पीपीए खोलिएको र यसले गलत सन्देश प्रवाह हुनबाट रोकेको इप्पानको बुझाई छ ।

देशको कुल जडित क्षमता करिब २ हजार ४३० मेगावाट रहेकोमा निजी क्षेत्रको योगदान १ हजार ७०० मेगावाट भन्दा बढी रहेको र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्व लगानी रहेको छ । ऊर्जा उत्पादन निजी क्षेत्रको योगदानका कारण अहिले देश बिद्युत ऊर्जामा आत्मनिर्भर हुने चरणमा प्रबेश गरेको र गएको ५ महिनामा करिब ११ अर्बको निर्यात गरी मुलुकको भुक्तानी सन्तुलन कायम गर्न र पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरणमा सहयोग पु¥याउन सक्ने अवस्थामा पुगेको इप्पानको भनाई छ ।

मुलुकको ऊर्जा क्षेत्रको आजको प्राथमिकतामा फेरबदल आएको भन्दै इप्पानले आन्तरिक खपत बृद्धि तथा अन्तरदेशीय बिद्युत ब्यापार ऊर्जा क्षेत्रको प्राथमिकता बनेको जनाएको छ ।

स्वीकृत सीमाभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको पीपीएको प्रारुप तय गर्न मन्त्रालयका सहसचिब संदीप कुमार देवको संयोजकत्वमा समिति गठन गरेको कुराले ईप्पानलाई थप उत्साहित बनाएको भन्दै समितिले आगामी दिनहरुमा बाँकी रहेका पीपीए पनि क्रमशः खुला गर्दै जाने वातावरण सिर्जना गर्ने विश्वास पनि इप्पानले लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।