सुन आयातमा लगाएको बन्देज हटाउन व्यवसायीको माग


नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाएको बन्देज हटाउन माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार सयुक्त रुपमा पत्रकार सम्मेलन गरी सरकारले पछिल्लो समय १० किलो मात्र सुन आयात गरिदिँदा उपभोक्ताको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा बढाउन माग गरेका हुन् ।

“बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले उपभोक्ताको आवश्यकता पूरा गर्न कठीन छ ।” नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले भने ।

विधिवत तरिकाले बैंकवाट आउने सुनवाहेक विदेशवाट आउने नेपालीहरुले विना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भएपनि सो अनुसार हुन नसकेकोे व्यवसायीको गुनासो छ ।

विदेशबाट आउने नेपालीहरुले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै महासंघले राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायी लाई अपराधि जस्तो व्यवहार गर्न थालेको बताएको छ । सरकारले अनुसन्धानका नाममा अनावश्यक दुःख दिने गरेको भन्दै महासंघले ब्यवसायीलाई आतंकित नबनाउन आग्रह गरेको छ ।

राज्यको नियम अनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साहित बनाउनुका साथै सिङगो पेसा प्रति नै वितृष्णा पैदा गरेको सुनचाँदी व्यवसायीले आरोप लगाएका छन् ।

व्यवसायीहरुले निर्वाध रुपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा ब्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फवाट प्रष्ट मापदण्ड ऐन, कानून बनाई शिघ्र लागु गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले १३ वर्ष अघिको कोटा सिस्टम अन्त्य हुनुपर्ने बताउँदै सुनचाँदीको बजार पारदर्शी बनाउन माग गरे । सुनचाँदी व्यवसायमा समस्या थपिदै गएकोले अब यथास्थितीमा बजार चल्न नसक्ने उनको भनाई थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।