सिभिल पछि सुनिल पोखरेल पपुवा न्यू गिनीको टिसा वाणिज्य बैंकको नेतृत्वमा


सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को भूमिकामा रही कार्यसम्पादन गरेका सुनिल पोखरेल सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पपुवा न्यू गिनी प्रस्थान गरेका छन् । मंगलबार मात्रै पोखरेल उक्त मुलुकको स्वदेशी लगानीमा स्थापना भएको पहिलो वाणिज्य बैंकको नेतृत्व सम्हाल्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पपुवा न्यू गिनीको दी टिचर्स सेभीङ्स एन्ड लोन सोसाइटी लिमिटेड ‘टिसा’ बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने गरी उनी पपुवा न्युगिनी गएका हुन् । ३ वर्षे कार्यकालका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका पाेखरेलले अवसरसँगै नयाँ स्थानमा अलग बैंकिङ संस्कारमा काम गर्ने चुनौती पनि थपिएको बताए । आफुले यस अघि पनि विदेशी बैंकहरुमा काम गरिसकेको अनुभवसँगै नेपालको अनुभवको संयोजनमा टिसा बैंकमा नतिजान्मुख काम गर्ने उनको भनाई छ ।

बैंकिङ क्षेत्रमा विशेषतः रिटेल बैंकिङमा अलग पहिचान बनाए पोखरेलले सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैकिङ करिअर सुरु गरेका थिए । बैंकिङ करिअरको ३१ वर्षमा पोखरेलले विदेशी बैंकको नेतृत्व सम्हाल्न लागेका हुन् ।

सिभिल बैंक प्रवेश गर्नु अघि उनले म्यानमारको एशियन ग्रीन डेभलपमेन्ट बैंक, अफगानिस्तानको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एनआइसी एशिया र नबिल बैंकमा समेत काम गरेका छन् । उल्लेखित सबै संस्थाहरुमा उनले रिटेल बैंकिङमा आफूलाई स्थापित गरेका थिए ।

सन् २०१९ को जुन महिनामा सिभिल बैंकमा डेपुटी सीइओमा नियुक्त भएका उनलाई सिभिल बैंकको ३४५ औं सञ्चालक समितिको बैंठकले सन् २०२१ को जुलाईमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । तथापि सन् २०२३ को फेब्रुअरी २४ मा सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि उनी स्वेच्छिक सेवा निवृत्ति सुविधा उपभोग गरी बाहिरिएका हुन् ।

टिसा बैंक

पपुवा न्यू गिनीको टिसा बैंकको बारेमा जानकारी दिँदै पोखरेले नोटबजारसँग भने, “टिसा कमर्सियल बैंक सञ्चालनको लाइसेन्स प्राप्त बैंक हो । हाल कमर्सियल बैंकका रुपमा सञ्चालनमा आएको छैन । म त्यहाँ पुगेको २/३ महिनापछि स्थानीयकै स्वामित्व रहेको पहिलो कमर्सियल बैंकको रुपमा सञ्चालनमा आउने छ ।” हाल पपुवा न्यू गिनीको बैंकिङ प्रणालीमा मल्टि–नेशनल र अष्ट्रेलियन बैंकहरुको ठूलो प्रभाव छ । पपुवा न्यू गिनीको केन्द्रीय बैंकबाट इजाजत लिई क्षेत्रिय बैंक तथा मल्टि–नेशनल बैंक सञ्चालनमा रहेका छन् । तर, त्यहाँको स्वदेशी लगानीमा भने हालसम्म कमर्सियल बैंकहरु सञ्चालनमा छैनन् ।

टिसा बैंक सामुदायिक स्वामित्व तथा स्थानीय स्वामित्व रहेको पहिलो कमर्सियल बैंक बन्ने अन्तिम तयारीमा छ । सोही बैंकमा पाेखरेलले नेतृत्व सम्हाल्न लागेका हुन् । “म पुगेर आफ्नै नेतृत्वमा टिसालाई कमर्सियल बैंकको रुपमा अघि बढाउनुपर्ने छ, त्यसका लागि म एकदम उत्सुक पनि छु र चुनौतीहरु पनि उत्तिकै छन्,” पोखरेलले भने । उनी त्यहाँ ३ वर्षे कार्यकालका लागि गएका हुन् । “विदेशी नागरिकलाई स्थायी बसोबासको व्यवस्था नहुञ्जेल ३ वर्षभन्दा बढी समयको नियुक्ती दिन नमिल्ने भएकाले अहिलेको नियुक्ती ३ वर्षे हो । काम गर्दै गएपछि आगामी दिनमा अझै समय बस्नुपर्ने हुन सक्छ” पाखरेलले भने ।

टिसा बैंक वाणिज्य बैंक स्तरको वित्तीय संस्थाका रुपमा लामो समयदेखि सञ्चालनमा छ । नेपालको कर्मचारी सञ्चय कोषको कार्यशैलीमा टिसा बैंकमा कार्य सम्पादन हुने गरेको छ । सन् १९७२ मा पपुवा न्यू गिनीको शिक्षा विभागमा दर्ता भएका कर्मचारी तथा शिक्षकहरुलाई बचतका लागि प्रोत्साहन गर्ने उद्देश्यले टिसाको स्थापना भएको थियो ।

दी टिचर्स सेभिङ्स एन्ड लोन सोसाइटी ‘टिसा’ पपुवा न्युगीनीको सबैभन्दा ठूलो बचत तथा ऋण समाज हो । साथै सो संस्था प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो ऋण युनियन पनि रहेको छ ।

पपुवा न्युगीनीमा हाल उक्त संस्थाका १७ शाखाहरु सञ्चालनमा छन् । यो संस्थाले आफ्नो उद्देश्य अनुरुप मानिसहरुलाई बचतका लागि प्रोत्साहन गर्ने र वित्तीय अभाव भएको समयमा मानिसहरुलाई न्युन व्याजदरमा कर्जा दिई वित्तीय सहजता प्रदान गर्दै आएको छ ।

नेपाली बैंकमा जस्तो सञ्चालक तथा सञ्चालक समिति र व्यवस्थापनका अलग पाटो नभई सबै सञ्चालकहरु पनि व्यवस्थापनसँगै जोडिने भएकाले टिसा बैंकको नयाँ समुहसँग भरपुर काम गरेर नतिजा देखाउने योजना रहेको पाखरेलले सुनाए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।