स्टक र कमोडिटी एक्सचेञ्जका आवेदकको मूल्याङ्कन सुरु, यसै साता समितिको पहिलो बैठक

0
Shares

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आएका आवेदनको मूल्याङ्कन गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले समिति नै बनाएर आवेदकहरुको मुल्याङ्कन गर्ने भएको हो ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स लिन इच्छुकबाट आवेदन माग गरेको थियो । बोर्डले माग गरे अनुसार स्टक एक्सचेन्जका लागि तीन वटा र कमोडिटी एक्सचेन्जका लागि चार वटा आवेदन परेका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न कम्पनी स्थापनाको सिफारिस माग गर्दै हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले बोर्डमा निवेदन दिएका छन् ।

त्यसैगरी कमोडिटी मार्केट सञ्चालनका लागि कम्पनी स्थापना गर्ने सिफारिस माग गर्दै मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेञ्ज लिमिटेडले कम्पनी स्थापना गर्न सिफारिसका लागि आवेदन दिएका हुन् ।

धितोपत्र बोर्डले आइतबार यीनै आवेदन उपर मूल्याङ्कन गरेर थप प्रक्रिया अघि बढाउन सिफारिस गर्न बोर्ड सञ्चालक तथा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र डेपुटी कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी सदस्य रहेका छन् ।

समितिले यसै साता पहिलो बैठक बसेर आवेदन कम्पनीहरुको आवेदन उपर अध्ययन सुरु गर्ने समितिका एक सदस्यले नोटबजारलाई जानकारी दिए । कानुनी प्रक्रिया अनुसार नै मूल्याङ्कन गर्नुपर्ने भएकाले केही समय लाग्ने भएपनि काम सुरु गर्न ढिला नगरिने ती अधिकारीको भनाइ छ । समितिले आवेदकहरुको आवेदनलाई अध्ययन गरेर अंकभार नै कायम गरेर योग्यलाई सिफारिस गर्ने ती अधिकारीले जनाकारी दिए ।

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका अनुसार विस्तृत व्यवसायिक कार्य योजनाको अंकभार ६० रहने व्यवस्था छ । त्यसैगरी तोकिए बमोजिमको न्यूनतम प्रस्तावित चुक्ता पूँजीको अंकभार ४, न्यूनतम चुक्ता पूँजीभन्दा प्रत्येक थप ५० करोड रुपैयाँका लागि थप १ अंकका दरले अधिकतम चार अंक ४ सम्मको व्यवस्था निर्देशिकामा उल्लेख छ । प्रस्तावित सञ्चालकहरुको अनुभव तथा शैक्षिक योग्यताको अंकभार ८ सम्म छ ।

त्यसैगरी तोके बमोजिम दुई तिहाई सञ्चालकहरुको न्यूनतम शैक्षिक योग्यता तथा अनुभवको लागि ५ अंक, सम्पूर्ण सञ्चालकहरुको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव भएमा थप तीन अंक ३ प्रदान गर्न सकिने व्यवस्था छ । कारोवार प्रणाली तथा प्रविधिको अंकभार १३ रहेको छ भने प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका कम्तीमा तीन वटा धितोपत्र बजार सञ्चालनको लागि प्रयोग भएको भएको हुनुपर्नेछ ।

कारोबार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका चार देखि सात वटा धितोपत्र बजार सञ्चालनको लागि प्रयोग भएको भएमा थप पाँच अंक आवेदनलाई मिल्नेछ । प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका सात वटा भन्दा बढी धितोपत्र बजार सञ्चालनको लागि प्रयोग भएको भएमा थप पाँच अंक प्रदान हुने निर्देशिकामा उल्लेछ । सो निर्देशिका अनुसार माथि तोकिएका मादण्डअनुसार एक सय अंकमा कायम गरिएको छ । सो मध्ये सबैभन्दा धेरै अंक पाउने आवेदनलाइ मूल्याङ्कन समितिले लाइसेन्स दिने प्रक्रिया अघि बढाउन भन्दै सिफारिस गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।