बीमा के हो ? यी हुन् बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू

0
Shares

नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको बीमा प्राधिकरणले आज सोमबारदेखि ५४ औं वर्ष पूरा गरेको हो ।

१. बीमाको परिचय:

बीमा भनेको मानव जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो। अर्थात् अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो ।

बीमा गर्दा बीमा गरिएका वस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितबाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको वस्तुमा तोकिएको जोखिमबाट हानि–नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्कनबाट तोकिएको हदबाट नबढ्ने गरी बीमा कम्पनीले क्षति बापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन् ।

२. बीमाका प्रकार:

सामान्यतया बीमा तीन प्रकारका हुन्छन्, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा ।

(क) जीवन बीमा:

जीवन बीमा भनेको मानिसको जीवनसँग सम्बन्धित हुन्छ । जीवन बीमा गरेपछि बीमाको अवधि समाप्त भएपछि बोनस सहित एकमुष्ठ रकम पाइन्छ। बीमा अवधिमा कथंकदाचित् बीमितिको मृत्यु भएमा निजको अधिकार प्राप्त हकवालाले बीमा रकम प्राप्त गर्दछन् । जीवन बीमा अन्तर्गत आजीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा पर्दछन् ।

(ख) निर्जीवन बीमा

निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नि बीमा, मोटर बीमा इन्जिनियरिङ बीमा, सामुद्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन्

(ग) पुनर्बीमा

बीमा कम्पनीहरूले आफूले बहन गर्न नसक्ने दायित्वको पुनः अर्को कम्पनीसँग गर्ने बीमालाई पुनर्बीमा भनिन्छ ।

३. बीमाको महत्व र आवश्यकता:

– बीमाले निश्चित सर्तका आधारमा बीमकबाट पूरै वा आंशिक जोखिम बहन गरी भविष्यमा हुनसक्ने नोक्सानी विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।

– बीमाले जोखिमलाई रक्षावरणका रूपमा लिनेगर्दछ । अर्थात् जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने सरल माध्यम भनेको बीमा हो।

– भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट सिर्जना हुने आर्थिक हानि नोक्सानीलाई बीमाले न्यूनीकरण गर्दछ ।

– बीमा व्यक्ति तथा परिवारको नाफादायक लगानी पनि हो। थोरै थोरै रकम बचत गरेर गरिएको बीमाको अवधि समाप्त भएपछि प्राप्त हुने एकमुष्ठ रकमबाट आर्थिक अभाव पूर्ति गर्न सकिन्छ ।

– लगानीकर्ता, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्न, व्यवसायमा हुनसक्ने जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न र वाणिज्य व्यापारको प्रवर्द्धन गर्न बीमा आवश्यक हुन्छ ।

– देशमा पुँजी निर्माण गर्न, रोजगारीका अवसर सिर्जना गर्न र विपन्नताका कारण हुने सामाजिक विकृतिमा कमी ल्याउन समेत बीमाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

४. बीमाबाट हुने आर्थिक रक्षावरण

– बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानि नोक्सानी विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।

– जीवन बीमा गर्दा बीमा लेखको अवधि समाप्त भएपछि बीमितिले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ। यदि बीमा लेखको अवधि समाप्त हुनुभन्दा अगाडि नै बीमितको मृत्यु भएमा निजको कानूनी हकदारलाई बीमाको रकम प्राप्त हुन्छ ।

– निर्जीवन बीमाले मानिसको स्वास्थ्यका साथै पालन गरिएका पशुपन्छी, बालीनाली, घर, भवन व्यवसाय लगायतका सम्पत्तिमा भविष्यमा भूकम्प, हावाहुरी, बाढी पहिरो, अधिक वर्षा, चट्याङ लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिका विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।

– भविष्यमा दुर्घटनाबाट निजी तथा व्यावसायिक सवारी साधनमा हुने क्षति विरुद्ध मोटर बीमाले आर्थिक रक्षावरण गर्दछ ।

५. जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था:

– बीमक (जीवन बीमा कम्पनी) ले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बीमितका नाममा किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो बीमाको दाबी भुक्तानीका लागि चाहिने बीमा लेख लगायतका कागजात समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनका लागि भुक्तानी पुर्जी (डिस्चार्ज भौचर ) जारी गर्नुपर्दछ ।

– बीमितले जीवन बीमाको दाबी भुक्तानीका लागि बीमा लेख तथा अन्य कागजात र भुक्तानी पुर्जी समेत बीमक समक्ष पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमा लेखको अवधि समाप्त भएको मितिले सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्दछ ।

– जीवन बीमा लेखको अवधि समाप्त हुनुभन्दा अगाडि बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो जीवन बीमाको रकम लिन देहायका विवरण खुलाई दाबी भुक्तानी पाउन निवेदन दिनुपर्दछ।

क) दाबी सम्बन्धी विवरण,

ख) बीमितको मृत्यु प्रमाणपत्र,

ग) दुर्घटनाबाट बीमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,

घ) बीमित सँगको नाता प्रमाणपत्र

ङ) उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू,

च) बीमा समितिद्वारा तोकिएका अन्य विवरणहरू:

– त्यसरी निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीका सम्बन्धमा पेस भएका कागजात समेतका विवरण छानबिन गरी आवश्यक भए अन्य कुरा समेत बुझी आफू समक्ष कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउन निवेदकका नाममा भुक्तानी पुर्जी जारी गर्नुपर्दछ । यसरी भुक्तानी पुर्जी जारी भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दाबी रकम भुक्तानी गर्नुपर्दछ ।

– बीमकले विवरण छानबिन गर्दा दायित्व निर्धारण गरी बीमा दाबी भुक्तानी नपर्ने देखेमा सोको कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्दछ ।

६. निर्जीवन बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्था

– निर्जीवन बीमा गर्ने बीमितले बीमा लेख बमोजिमको दाबी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरण खुलाई बीमक समक्ष निवेदन दिनुपर्दछ ।

– निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बीमितबाट निवेदन प्राप्त भएपछि बीमकले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गर्नुपरेमा तुरुन्त बीमा सर्भेयर खटाउनुपर्दछ ।

– खटिएको बीमा सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेस गर्नुपर्दछ । प्रतिवेदनमा बीमकबाट बीमा लेखको सर्त बमोजिम बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरिएको हुनुपर्दछ ।

– सर्भेयरले प्रतिवेदन पेस गरेको मितिले साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी रकम भुक्तानी गर्नुपर्दछ ।

७. उजुर गर्न सक्ने व्यवस्था:

– बीमा सम्बन्धी कुनै गुनासो भए वा समस्या परेमा नेपालको बीमा नियमनकारी निकाय बीमा समितिमा उजुरी दिन सकिनेछ ।

– बीमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले त्यसको कारण समेत खोली बीमा समितिमा उजुरी गर्नुपर्दछ ।

– बीमाको दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएका उजुरी माथि बीमा समितिले निर्णय गर्दछ ।

– बीमक र बीमित बीचको कुनै विवाद उत्पन्न भएमा त्यसको मध्यस्थता गर्ने कार्य पनि समितिले गर्दछ ।

८. बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू:

– बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरण स्पष्टसँग खुलाई भर्नुपर्दछ ।

– बीमा लेखमा उल्लेखित सम्पूर्ण सर्त एवं सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।

– बीमितले आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्तर समेतलाई ध्यानमा राखेर बीमा लेख खरिद गर्नुपर्दछ ।

– बीमा शुल्क बुझाउने तथा बीमा लेख नवीकरण गर्ने मिति, नवीकरण गर्दा लाग्ने बीमा शुल्क र बीमा लेख बापत पाउने रकम जस्ता विषयमा बीमा लेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नुपर्दछ ।

– बीमितले बीमा शुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसिद लिनुपर्दछ ।

– बीमा सम्बन्धी प्रस्ताव फाराम बीमित स्वयंले भर्नुपर्दछ । यदि बीमित निरक्षर वा प्रस्ताव फाराम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फाराम भर्नुपर्दछ ।

– बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।

– बीमा लेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमा लेख नवीकरण गर्नुपर्दछ ।

– बीमा सम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नुपर्दछ। बीमितले आफूले खरिद गरेको बीमा लेखसँग सम्बन्धित सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्दछ ।

– हाल प्रविधिको विकाससँगै विभिन्न बैंकिङ प्रणाली तथा डिजिटल भुक्तानी पोर्टल मार्फत घरबाट नै बीमा शुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नुपर्दछ ।

– बीमितले आफ्नो आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखेर मात्र बीमा गर्नुपर्दछ । अन्यथा रकमको अभावमा तोकिएको समयावधिसम्म बीमा लेखलाई नवीकरण गर्न नसकेर सरेन्डर गर्नुपर्ने अवस्था आउन सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ जेठ २०८०, सोमबार  १३ : ३३ बजे