पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष\सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना÷हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार पशुपतिमा विद्युतीय शवदाहगृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरिएको हो ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरू उपर सजायको मागवादी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  ०७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।