नेपालको वित्तीय क्षेत्र सुधारका लागि आइएफसीले सवा ७ अर्ब लगानी गर्ने

0
Shares

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको वित्तीय क्षेत्र सुधारका लागि ७ अर्ब २५ करोड नेपाली रुपैयाँ अर्थात् ५ करोड ५० लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएको छ ।

आइएफसीले नेपालको सिद्धार्थ बैंकलाई ७ अर्ब २५ करोड ऋण सहयोग गरी नेपालमा वित्तीय पहुँच बढाउका लागि सो लगानी गरेको जनाएको छ । उक्त रकम नेपालभर छरिएर रहेका साना तथा मझौला उद्योग (एसएमई)हरुमा कर्जाको पहुँच बढाउनका लागि प्रयोग हुनेछ ।

कोभिड–१९का कारण धरासायी अवस्थामा पुगेका साना तथा मझौला उद्योगहरुमा वित्तको आवश्यकता रहेको र यो सहयोगले एसएमई व्यवसायीलाई सहजता मिल्नुका साथै नयाँ रोजगारी सिर्जना हुने आइएफसीले जनाएको छ । उक्त सहयोगले महिलाहरुलाई व्यवसायमा आवद्ध हुनका लागि प्रेरणा दिने विश्वास गरिएको छ। आइएफसीले नेपालको वित्तीय क्षेत्रको विस्तार तथा पहुँच वृद्धिका लागि विगतका वर्षमा समेत सहयोग गर्दै आइरहेको छ । यो ७ अर्ब २५ करोड रुपैयाँ लगानी आइएफसीले नेपालमा आजसम्म गरेको सबैभन्दा धेरै लगानी हो ।

कुल ग्रास्थ उत्पादनमा २२ प्रतिशत योगदान पु¥याउने साना तथा मझौला उद्योग नेपाली अर्थतन्त्रको आधारस्तम्भ रहेका छन् । हाल एसएमईजमा १८ लाख मानिसहरु आवद्ध रहेका छन् । तथापि एसएमई सञ्चालनका लागि आवश्यक पर्ने वित्त उपलब्ध नहुँदा ४४ प्रतिशत साना तथा मझौला उद्योगहरु बन्द हुने अवस्थामा रहेका छन् । यो ऋण लगानी मार्फत एसएमई क्षेत्रमा वित्तीय पहुँच बढाउनुका साथै १५ हजार बढी नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

कुल ऋणको १० प्रतिशत ऋण जलवायु वित्तपोषणका लागि प्रयोग हुनेछ । नेपालमा विद्युतीय सवारीसाधन, आधुनिक कृषि र उर्जा उत्पादनमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको आइएफसीको जनाएको छ ।

विश्वव्यापी जलवायु जोखिम सूचांक २०२१का अनुसार नेपाल जलवायु परिवर्तन जोखिममा पर्ने देशहरुमा १२ औँ देशमा रहेको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्नका लागि नेपालमा क्लाइमेट फाइनान्सीङ वृद्धि गर्नुपर्छ । यस्तै नेपाल सरकारले सन् २०४५ सम्ममा नेपालले कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि समेत ग्रीन फाइनान्सीङ बढाउनुपर्दछ ।

नेपालको वित्तीय क्षेत्रमा तरलता प्रवाह गरी बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला उद्योगमा वित्तीय पहुँच वृद्धि गरेकोमा आफूहरु खुशी भएको आइएफसी नेपालका देशीय निर्देशक बाबाकर एस फाएले बताए ।

सन् २०१९ यता आइएफसीले नेपालमा १५ करोड अमेरिकी डलर सहयोग गरेको छ । आइएफसीको यो सहयोग समय सान्दर्भिक भएको र यसले दुर्गम क्षेत्रमा रहेका घरेलु, साना तथा मझौला उद्योगहरुमा लगानी बढाउन सहयोग गर्ने र जलवायु परिवर्तन नियन्त्रणका लागि गरिएको लगानी वृद्धि गर्न मदत गर्ने सिदार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।