नेप्से लगातार पाँच दिन बढेपछि १९ सय बिन्दु नजिक, यसकारण बढ्दैछ

0
Shares

बैंकिङ प्रणालीमा देखिएको घट्दो ब्याजरदरको क्रम र सेयर बजार घटेर तल्लो बिन्दुमा झरेको अवस्थामा नेप्सेमा लागातार पाँच दिनको वृद्धि सम्भव भएको छ ।

नेप्से परिसूचक लगातार घट्दै जेठ १ गते १८१८ बिन्दुमा झरेपछि बजारमा देखिएको खरिद चाप सोमबारसम्म कायम छ । सूचीकृत धेरै कम्पनीहरुको सेयरमूल्य घटेर आईपीओ कै भाउमा छानीछानी खरिद गर्ने अवसर आउन थालेपछि पुँजी बजारमा सकारात्मक माहोल सिर्जना भएको हो ।

यसबीचको पाँच कारोबार दिनमा नेप्से ७३ अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । यद्यपी कुनैपनि कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि नआएकाले अझैपनि धेरै कम्पनीको भाउ धेरै बढेको छैनन् । हरेक दिन इन्ट्रा डे करेक्सन हुँदै सामान्य अंकको वृद्धि नेप्सेमा बन्द हुँदै अगाडि बढेको हुनाले पाँच कारोबार दिनसम्म नेप्सेको वृद्धि टिक्न सफल भएको हो ।

अर्कोतर्फ चालु आवको अन्तिम दुई महिना मात्र बाँकी रहँदा सरकारी खर्चमा वृद्धि हुँदा जाँदा बजारमा लगानीयोग्य तरलता रकम समेत बढ्दो चरणमा रहेको छ । अर्कोतर्फ वार्षिक ६–७ प्रतिशत मात्र कर्जा विस्तार भएकाले बैंकहरुलाई लगानी विस्तार गर्ने बाध्यता छ । त्यसैले केही बैंकले सेयर धितोकर्जाको नयाँ स्कीम सार्वजनिक गर्न थालेका छन् ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा अबको एक त्रैमासभित्रै सूचीकृत कम्पनीहरुका लाभांश आउने क्रम सुरु हुन्छ । त्यसलै यो समय सेयर बजारमा दीर्घकालीन लगानीका गर्न चाहने ग्राहकले राम्रा कम्पनीहरुको सेयरमा लगानी बढाउन थालेका हुन् ।

बैंकहरुको २०७९ माघ अन्तिमसम्ममा सेयर धितोमा ७४ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा दुई महिनामा ३१ करोडले बढेर ७५ अर्ब १० करोड रुपैयाँ पुगेको तथ्याङ्क राष्ट्र बैंकको छ । चैत अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८५ प्रतिशतभन्दा तल झर्दा२ खर्ब बढी लगानीयोग्य रकम बैंकहरुसँग छ । हाल एक परिवारले बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्मको मार्जिन प्रकृतिको कर्जा लिनसक्छ ।

सोमबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ अङ्कले उकालो लागेर ३५८.८८ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये बैंकिङ र ब्यापार बाहेक ११ वटै उपमूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.४४ प्रतिशतले बढ्दा १.५२ प्रतिशतले बढेको छ ।

यसदिन कूल ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ मूल्यमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन आइतबार १ अर्ब ६० करोडको सेयर कारोबार भएकोमा कारोबार रकम ३२ करोड रुपैयाँले घटेको हो ।

सोमबार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४९४ बराबरको सेयर कारोबार भयो । यस्तै सोल्टी होटल ६ करोड १७ लाख ६८ हजार,ओरियन्ट होटलको ५ करोड ३९ लाख ९७ हजार। एनआईसी एशिया बैंकको ४ करोड ८३ लाख ३९ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी ४ करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसा बढेसँगै कम्पनीको सेयरमूल्य १२४२ रुपैयाँ २० पैसा पुगेको छ । युनिलिभर नेपाल लिमिटेडको ७.०१ प्रतिशत, गुडविल फाइनान्सको ६.२३, सामुदायिक लघुव्त्ति ५.३६ र मायाखोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.४४ प्रतिशतले बढेको छ ।

यसैगरी आजको बजारबाट ग्रीन लाइफ हाइड्रोपावरको सेयमूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेर २८९ रुपैयाँमा झरेको छ । यस्तै नयाँ सारथी लघुवित्त ३.६७, सपोर्ट माइक्रोफाइनान्स २.७०, तेह्रथुम पावर २.५३ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य २.४० प्रतिशतले घटेको छ । कारोबार कित्ताका आधारमा आज सोल्टी होटलको सर्वाधिक २ लाख १६ हजार २२ कित्ता कारोबार भएको छ भने कारोबार सङ्ख्याका आधारमा माईखोला जलविद्युत कम्पनीको ६८७ वटा कारोबार भएको छ ।

सोमबारको वृद्धिसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २७ खर्ब ५९अर्ब १४ करोड ४० लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।