बजेटपछिका दुई दिनमा नेप्सेमा ९२ अंकको गिरावट, बुधबार ३८.८३ अङ्कले घट्यो

0
Shares

सेयर बाजर परिसूचक नेप्से सरकारले बजेट सार्वजनिक गरेको दुई दिनमा नै ९१.९९ अंकले घटेको छ । मंगलबार ५३.१६ अंकले घटेको बजार बुधबार थप ३८.८३ अंकले घटेको हो । आज नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर १८४९.७९ अङ्कमा झरेर बन्द भएको छ । आगामी आर्थिक वर्षको बजेटमा थप नयाँ निष्कासन तथा सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो ।

प्रिमियम आम्दानीलाई लाभांशको रुपमा वितरण गर्नु भन्दा अघि आयमा देखाइ आयकर भूक्तान गरेपछि मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था आयकर ऐन २०५८ मा रहेको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा मर्जरको लाभबाट तिर्नुपर्ने व्यवस्था गरेको हो । यद्यपी तर सरकारले नयाँ निष्कासन (एफपीओ) तथा बिक्री नभएको हकप्रद सेयरलाई लिलामी गर्दा भएको प्रिमियम आम्दानी शीर्षकमा आयकर बापतको साँवा मंसिर मसान्तभित्र तिरेमा शुल्क र ब्याज मिनाहा गर्ने व्यवस्था आर्थिक विधेयक मार्फत गरेको छ ।

नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले प्रिमियबाट प्राप्त आम्दानीलाई आयकर नतिरी सेयरधनीलाई लाभांशको रुपमा वितरण गरिसकेको अवस्था छ । आर्थिक विधेयक मार्फत गरिएको यस व्यवस्थाले नेपाल लाइफ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक९साबिक नेपाल इन्भेष्टमेन्ट बैंक० शिखर इन्स्योरेन्स, एनएमबि बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (प्रिमियर इन्स्योरेन्स), नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायतले ठूलो रकम सरकारलाई आयकरको रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी आयकरमा गणना नगरी सरकारलाई मंसिर मसान्तभित्र कर भुक्तानी नगरेमा शुल्क तथा ब्याज र परिवाना समेत लाग्नेछ । यसले कतियि संस्थाले आगामी आर्थिक वर्षमा लाभांश समेत वितरण गर्न नसक्ने अवस्था सिर्जना गरेको छ ।सोही व्यवस्थाको असरले बुधबार पनि सेयर बजारमा पहिरो गएको हो ।

करको व्यवस्थाबाट लगानीकर्ता त्रसिद हुन थालेपछि सरकारी अधिकारीले हाल व्यक्तिगत लगानीकर्तालाई कर नलाग्ने घोषणा गरेपनि आर्थिक विद्येयकमा गरिएको व्यवस्थाले आव २०७६।७७ देखि कर लाग्ने नै देखिन्छ । सोही कारण पछिल्लो दुबै दिनमा सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

आज २६२ स्क्रिप्टका ८७ लाख ३६ हजार १२८ कित्ता सेयर ३६ हजार ८९३ पटक खरिद बिक्री हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक ७.२८, फ्लोट सूचक २.५९ र सेन्सेटिभ फ्लोट सूचक २.२० अङ्कले घटेको छ ।

सबै समूहका उपसूचक पनि घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २२८.८२ र निर्जीवन बीमा समूहको उपसूचक २२२.३४ अङ्कले घटेको छ । बैंकिङ १८.६७, विकास बैंक ७०.१७, वित्त समूह ३४, होटल तथा पर्यटन १२५.७१ र जलविद्युत् समूह ६१.८० अङ्कले घटेको छ । त्यसैगरी, लगानी १.४८, उत्पादन तथा प्रशोधन १७२.९६, लघुवित्त ६३.०२, म्युचुअल फन्ड ०.०६, व्यापार ३५.७३ र अन्य उपसमूहगत सूचक २०.२० अङ्कले घटेको छ ।

बुधबारको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर (१८१ रुपैयाँ ८० पैसा बढेर) प्रतिकित्ता २ हजार रुपैयाँ पुगेको भने युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर (३ हजार ३४२ रुपैयाँ ७० पैसा) ३० हजार ८४ रुपैयाँमा झरेको छ ।

कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको संस्थापक सेयर ३४ करोड २८ लाख १६ हजार १२९ बराबरको २७ लाख ८७ हजार १२३ कित्ता सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्टसको ११ करोड ६५ लाख ३६ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टडको ६ करोड ५१ लख ७१ हजार, एनआईसी एशिया बैंकको ६ करोड ६ लाख ६९ हजार र तारागाउँ रिजेन्सी होटलको ४ करोड ९७ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।