हिमालयन रिको खुद नाफा साढे २५ करोड, अधिकांश सूचकमा सुधार

0
Shares

निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा २९.५१ प्रतिशतले वृद्धि भएको हो । यसै अवधिसम्म कम्पनीले अधिकांश वित्तीय सूचाङ्कमा प्रगति गरेको छ ।

नेपालका स्थापित मारवाडी घरानाहरुकाे लगानी धेरै रहेको कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा चर्चित व्यवसायी शेखर गोल्छा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पदमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी छन् । कम्पनीले भारतबाट प्रमुख कार्यकारी अधिकृत सहित तीन जना कर्मचारी भित्र्याएको थियाे ।

हिमालयन रिमा शंकर ग्रुप, केएल दुगड ग्रप, एमभी दुगड ग्रुप, गोल्छा ग्रुप, पशुपति मुरारका, भवानी राणा, सतिश मोर शेखर गोल्छा र सरकारको नजिक रहेर विकास आयोजनाहरुमा चलखेल गर्दै आएका दीपक भट्ट लगायतको लगानी रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले समेत कम्पनीमा कुल १ अर्ब लगानी गरेका छन् ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिसम्म कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा खुद बीमा शुल्क ६ गुणा बढीले बढेको हो ।  गत वर्षको यसै अवधि (२०७८ चैत) सम्म १ करोड ४६ लाख ९ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोमा २०७९ चैतसम्ममा हिमालयन रिले २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

चैतसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय शीर्षकबाट १५ करोड ७५ लाख ९४ हजार र अन्य अप्रत्यक्ष आयबाट १२ करोड २४ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले पुनर्बीमा कमिशन खर्च वापत ८२ करोड ५० लाख ९६ हजार रुपैयाँ र व्यवस्थापन खर्च वापत १२ करोड ६५ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो आवको सोहीी अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय शीर्षकबाट २ करोड १ लाख ७६ हजार र अन्य अप्रत्यक्ष आयबाट १ करोड १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै पुनर्बीमा कमिशन खर्च वापत ९ करोड ८५ लाख ८५ हजार रुपैयाँ र व्यवस्थापन खर्च वापत ८ करोड २२ लाख ९६ हजार रुपैयाँ खर्च गरेको थियो । गत आवको तुलनामा कम्पनीको पुनर्बीमा कमिशन खर्च बढ्नुले कम्पनीको व्यवसाय पनि उत्तिकै रुपमा वृद्धि भएको बुझ्न सकिन्छ ।

कम्पनीले यस अवधिमा ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी र १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी र ३ अर्ब ४४ करोड ५० लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा गरेको थियो ।

विसं २०७८ असारसम्म सरकारी स्वामित्व रहेको एक मात्र नेपाल पुनर्बीमा कम्पनी रहेकोमा त्यसपछि हिमालयन रि इन्स्योरेन्स नेपालको रिइन्स्योरेन्स बजारमा दोस्रो ‘प्लेयर’ को रुपमा ‘इन्ट्री’ भएको थियो । घुस दिएर इजाजत लिएको भन्दै स्थापनाको समयमा नै कम्पनी विवादित भएपनि कम्पनीले व्यवसाय विस्तारमा आकर्षक वृद्धि गर्दै आएको छ ।

करिब दुई महिना ढिलो गरी प्रकाशत गरेको वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ७ अर्ब रहँदा वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा कायम भएको छ । गत आवको सोही अवधिमा ३ रुपैयाँ ७४ पैसा इपीएस थियो । यस्तै समीक्षा अवधिमा बीमा कोष २७ गुणा तथा जगेडा कोष ९ गुणा बढीले वृद्धि भएको छ । चैतसम्म आइपुग्दा कम्पनीले बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ तथा जगेडा कोषमा ३८ करोड ५८ लाख ३१ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको सोही अवधिमा बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ तथा जगेडा कोषमा २० करोड ६ लाख रुपैयाँ रुपैयाँ सञ्चित थियो । प्रकाशित विवरण अनुसार कम्पनीको बीमा कोषको आकारमा २७४२ प्रतिशत र जगेडा कोषको आकारमा ९२.३३ प्रतिशतले वृद्धि भएको हो । साथै महाविपत्ती कोष ४ लाख ६० हजारबाट मा १ करोड ५० लाख ५९ हजार रुपैयाँ सञ्चित गरेको छ ।

चैत मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क संकलन रकम ३ अर्ब ५८ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल बीमा शुल्क ५२ करोड ५९ लाख ६६ हजार रुपैयाँ थियो । गत आवको यसै अवधिमा ६ करोड ८८ लाख ८९ हजार रहेकोमा चैतसम्म कम्पनीको भुक्तानी हुन बाँकी रकम ६२ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म असामाप्त जोखिम वापतको व्यवस्था २ अर्ब २१ करोड १९ लाख र भुक्तानी हुन दाबी वापतको व्यवस्था ७२ करोड ९ लाख रुपैयाँ छ ।

बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय पनि आधा आधा बाँडेपछि त्यसले कम्पनीको व्यवसाय विस्तारमा छलाङको वृद्धि देखिएको हो । नेपाल रि–इन्स्योरेन्सले पाउँदै आएको २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसायको आधा हिस्सा निजी लगानीको हिमालयन रि इन्स्योरेन्सलाई दिने निर्णय गरेको थियो । यो निर्णयले बीमालेखमा उल्लेखित बीमाङ्कको कम्तीमा २० प्रतिशत हिस्सामध्ये १० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत व्यवसाय हिमालयन रिले पाएका हुन् । साथै आरक्षित पुनर्बीमा व्यवसायको हिस्सा प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै छैटौं वर्षदेखि आरक्षित व्यवसाय शुन्यमा झार्ने नीति प्राधिकरणले लिएको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०७८ मंसिर ९ गते सबै जीवन र निर्जीवन बीमा कम्पनीहरु नेपालका रिइन्स्योरेन्स कम्पनीमा आबद्ध हुनुपर्ने अनिवार्य नीति लियो। यसले कम्पनीको व्यवसाय विस्तारलाई सहयोगी भएको हो। कम्पनीमा सबै निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनी आबद्ध भैसकेका छन् । नेपालको पुनर्बीमा क्षेत्रमा केही वर्षसम्म पूर्ण रुपले विदेशी कम्पनीमा निर्भर रहेकोमा प्राधिकरणको निर्णयसँगै हाल पूर्ण रुपमा सबै पुनर्बीमा नेपालमै हुन थालेको छ । सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य २० प्रतिशत सहित नेपाली कम्पनीमा शतप्रतिशत बीमा गर्नुपर्ने निर्णय प्राधिकरणले गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।