अन्तर बैंक दर २ वर्ष यताकै न्यून, पछिल्लो २ सातामा ३% विन्दुले घट्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक दर पछिल्लो २२ महिना यताकै न्यून विन्दुमा झरको छ । वित्तीय प्रणालीमा निक्षेप बढेसंगै अन्तर बैंक दर २.६५ प्रतिशतमा झरेको हो ।

बैंकिङ प्रणालीमा निक्षेप थपिने र कर्जा प्रबाह रोकिएपछि अल्पकालिन ब्याजदरहरु उच्च दरमा घट्न थालेका छन् । बैंकहरुले भद्र सहमती गरेर असार महिनामा निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेपछि अन्तर बैंक दर, ट्रेजरीको डिस्काउन्ट रेट लगायतका अल्पकालिन रेटहरु निरन्तर घट्दो क्रममा छन् ।

गत जेठ २९ गते ५.७४ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आन्तरिक सापटको औसत ब्याजदर असार ८ गते ३.०९ प्रतिशत विन्दुले घटेर २.६५ प्रतिशतमा झरेको हो । आर्थिक वर्षको समाप्ति नजिकिएसंगै सरकारी खर्च बढ्न जाँदा वित्तीय प्रणालीको निक्षेप बढेको हो । असार ८ गतेसम्ममा बैंकिङ प्रणालीको कुल निक्षेप नै ५५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापनका लागि एक आपसमा सापट लेन देन गर्छन । उक्त लेनदेन कारोबारमा कायम हुने ब्याजदर नै अन्तर बैंक दर हो । अन्तर बैंक दर बैंक वित्तीय संस्थासंग हुने तरलताको अवस्थाले निर्धारण गर्छ । तरलता कसिलो भएको अवस्थामा अन्तर बैंक दर बढछ भने तरलता खुकुलो हुँदा घट्छ । त्यसका साथै अन्तर बैंक दरमा आउने उतारचढाव अनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउने र खिच्ने काम गर्छ।

केन्द्रीय बैंकले तोकेको ७ प्रतिशतको नीतिगत दर भन्दा अन्तर बैंक दर २ प्रतिशत तलमाथि भएको खण्डमा केन्द्रीय बैंकले रिपो र रिभर्स रिपो जारी गर्छ । रिपो मार्फत बजारमा तरलता पठाउँछ भने रिभर्स रिपो मार्फत प्रणालीको पैसा खिच्छ ।

जेठ १० गते ७ प्रतिशतमा रहेको अन्तर बैंक दर असार ८ गतेसम्म आइपुग्दा ४.३५ प्रतिशत विन्दुले घटेको छ । यो अवधिमा केन्द्रीय बैंकले असार लागेपछि मात्र २ पटक रिभर्स रिपो जारी गरेको छ ।

केन्द्रीय बैंकले असार ७ बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको थियो । त्यसका लागि औसत ३ प्रतिशतको ब्याजदरमा २६ अर्ब ३३ करोडको माग परेको थियो । रिभर्स रिपोमा परेको अधिक आवेदनका कारण केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको थियो । त्यसका लागि भने कुल १४ अर्ब ७० को मात्र माग आवेदन परेको थियो । त्यसमा पनि बैंक वित्तीय संस्थाले ब्याजदर बढाएपछि केन्द्रीय बैंकले १३ अर्ब २० करोड रुपैयाँ मात्र खिचेको छ । आइतबारको रिभर्स रिपोको रेट औसतमा ४.२७५३ प्रतिशत कायम भएको छ ।

वित्तीय क्षेत्रमा निक्षेप बढेको भएपनि बैंकहरुको भद्र सहमतिका कारण ब्याजदर घट्न सकेको छैन । असार महिनामा गत बैंशाखमा घटाएको निक्षेपको ब्याजदरका कारण कर्जाको ब्याजदर केही घटेको भएपनि भद्र सहमतीका कारण तरलतामा देखिएको उतारचढावले ब्याजदर घट्ने बढ्ने हुन सकेको छैन । असार महिनाका लागि बैंंकहरुको निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने कर्जाको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।