अधिक तरलता खिच्न २ वर्षपछि ‘डिपोजिट कलेक्सन’, औसत ब्याजदर ४ प्रतिशतको वरीपरी


नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता खिच्न झण्डै २ वर्ष पछि डिपोजिट कलेक्सन गरेको छ । बैंकले वित्तीय प्रणालीको तरलता तथा व्याजदरको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तल माथि भएमा रिपो÷रिभर्स रिपो बोलकबोल खुला गर्ने व्यवस्था छ । त्यसैगरी अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत बिन्दुभन्दा बढीले घट्न गएमा निक्षेप बोलकबोल गर्नु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार केन्द्रीय बैंकले बिहीबार २० अर्बको निक्षप संकलन उपकरणको कोलकबोल गरेको हो ।

बिहीबार २०७८ साउन २१ गते पछि कै न्यून अन्तर बैंक दर कायम भएपनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । अन्तर बैंक दर घट्नु भनेको वित्तीय प्रणालीमा अधिक तरलता रहेको अवस्था हो । केन्द्रीय बैंकले करिब २ वर्ष पछि प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि खर्च ब्याज तिरेर निक्षेप संकलन उपकरण मार्फत पैसा खिचेको हो ।

केन्द्रीय बैंकका अनुसार बिहीबार औसत अन्तर बैंक दर ०.९ प्रतिशत छ । हालको नीतिगत दर ७ प्रतिशत रहेकोमा अन्तर बैंक दर ३ प्रतिशत विन्दु भन्दा धेरैले घटेपछि निक्षेप संकलन उपकरण जारी गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “अहिले आर्थिक वर्ष समाप्तिको समय भएकाले अन्तर बैंक दर एक प्रतिशतको हाराहारीमा झरेपछि निक्षेप संकलन उपकरण बोलकबोल गरेको हो,” ती अधिकारीले भने, “अहिले कायम भएको अन्तर बैंक दर अल्पकालिन हो, सकारी खर्च बढेसँगै वित्तीय प्रणालीमा तरलता बढ्ेको भएपनि सकारले राजस्व लिएपछि तरलता सन्तुलनमा आउँछ र अन्तर बैंक दर फेरी बढ्छ ।”

बिहीबार केन्द्रीय बैंकले २० अर्बको निक्षेप संकलन उपकरणको बोलकबोल गरेको थियो । उक्त उपकरणका लागि बैंक वित्तीय संस्थाले ३० अर्ब रुपैयाँको आवेदन गरेको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणमा परेको अधिक आवेदनले पनि बैंकिङ प्रणालीमा तरलता अझै पनि उच्च रहेको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा ब्याजदरमा सन्ुतलन कायम गर्नका लागि बिहीबार ४.७५ प्रतिशतसम्म ब्याज अफर गर्दै पैसा लिएको छ । केन्द्रीय बैंकले निष्कासन गरेको उक्त निक्षेप संकलन उपकरणका लागि बैंक वित्तीय संस्थाले अधिकतम ४.७५ र न्यूनतम २.४८९९ प्रतिशत बोल गरेका थिए । उक्त निक्षेप संकलनको औसत ब्याजदर ३.८३२५ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले शुक्रबारको अवस्थालाई हेरेर आगामी दिनमा निक्षेप संकलन उपकरण बोलकबोल गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।