भारतीय रिजर्भ बैंकले बढाएन रिपो दर, मुद्रास्फीति नियन्त्रणमा आएको संकेत

0
Shares

भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अगस्ट महिनामा रिपो दर नबढाउने निर्णय गरेको छ ।

अगस्ट ८ देखि १० तारिखसम्म बसेको मौद्रिक नीति समिति (एमपीसी)को बैठकबाट हालका लागि रिपोदर यथावत् राखने निर्णय भएको आरबीआईका गर्भनर शक्तिकण्ठ दासले जानकारी दिएका हुन् ।

हाल आरबीआईको रिपो रेट ६.५ प्रतिशत रहेको छ । रिपो रेट भन्नाले केन्द्रीय बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण दिँदा लिने ब्याजदर भन्ने बुझिन्छ । रिपो रेट यथावत् रहँदा बैंक तथा वित्तीय संस्थाहरुले ऋण लिने क्रम बढ्छ भने अर्थतन्त्र चलायमान हुन्छ ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा मुद्रास्फीति दर बढ्दै गएपछि अधिकांश केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीति अपनाउनुका साथै आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएका छन् । भारतीय केन्द्रीय बैंक–आरबीआईले समेत सन् २०२२ को मे महिनाबाट रिपो रेट बढाउँदै आएको छ ।

सन् २०२२ को मे महिना यता बैंकले २.५ प्रतिशत विन्दुले रिपोरेट बढाएको छ । आरबीआईले रिपो रेट बढाएसँगै बैंक तथा वित्तीय संस्थाहरुले ऋण तथा बचतको ब्याजदर बढाउँदै आएका छन् । उच्च ब्याज तिरेर ऋण लिने मानिसहरुको क्षमता घट्दै गएपछि भारत तथा अधिकांश देशहरुमा नयाँ रोजगारीको सिर्जना हुन सकेको छैन र आर्थिक वृद्धि दर समेत खुम्चिएको छ ।

आरबीआईले मुद्रास्फीति नियन्त्रण गर्न आक्रामक शैलीमा बढाएको रिपो दरको प्रभाव भारतको आर्थिक वद्धिमा समेत देखिएको छ । भारतले आर्थिक वर्ष २०२३ मा ७.२ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । तथापि रुस–युक्रेनबीच जारी युद्धका कारण विश्वव्यापी अर्थतन्त्र अहिलेपनि कोभिड पहिलेको पुरानै लयमा फर्किन सकेको छैन । बाह्य तथा आन्तरिक झड्काहरुलाई मध्यनजर गर्दै आरबीआईले आर्थिक वर्ष २०२४/२५ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

यस्तै सन् २०२४ मा भारतले मुद्रास्फीति दर ४ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएता पनि मूल्यवृद्धि सूचांक–उपभोक्ता मूल्य सूचांक अप्रिल–जुन महिनासम्ममा ५.२ प्रतिशत कायम रहने तथ्यांकले पुष्टि गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।