गत आवमा ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत रु चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल ५५ खर्ब १८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ। अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो ।

त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब गरी कूल एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।