चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य

0
Shares

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल(चीन बिजनेस समिटमा दुवैतर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले उक्त धारणा राखेका हुन् ।

द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको स्पष्ट पार्दै चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गरे ।

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने पनि बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले निजी क्षेत्रको प्रवर्धनमा सरकार सधैं तत्पर रहेको स्पष्ट पारे । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देश(विदेशमा पहल गरिरहेको भन्दै उनले महासंघको सराहना पनि गरे।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्रीले बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ।

सिसिपिआइटीको मुख्यालय बेइजिङमा २०२३ सेप्टेम्बर २४ मा आयोजित समिटमा चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले बताए । चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुक हो ।

नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए । नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने उनको भनाइ छ ।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जन गर्न, पर्यटन प्रवर्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्धनका लागि समिट महत्वपूर्ण रहने उनको विश्वास छ।

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी गराए । पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।

विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको अध्यक्ष ढकालको भनाइ छ । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको जानकारी गराउँदै उनले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिए ।

अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए । चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने उनको भनाइ छ ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेक थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।

समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । समिटपूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।

यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।

छलफलमा अध्यक्ष ढकालसहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको पनि सहभागिता थियो । यसैगरी महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पनि बैठकमा सहभागिता जनाएका थिए । यसैगरी कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र शोभा ज्ञवालीको पनि कार्यक्रम एवं बैठकमा सहभागिता थियो ।

समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ । यसैगरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ ।

महासंघले चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।