राष्ट्र बैंकले प्रणालीको तरलता नखिचेपछि ट्रेजरीकोे डिस्काउन्ट रेट ३ प्रतिशतमा झर्यो

0
Shares

नेपाल राष्ट्र बैंकको चलाखीले अल्पकालिन ब्याजदर घट्न थालेको छ। केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर भन्दा तल आउँदा पनि तरलता नखिचेपछि ट्रेजरीको डिस्काउन्ट रेट घटेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई विकास ऋणपत्र र ट्रेजरी बिल्स मार्फत व्यवस्थापन गर्दा अल्पकालिन ब्यादरहरु घट्न थालेका हुन । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याज दिने गरी निक्षेप संकलन तथा रिभर्स रिपो मार्फत तरलता खिच्नु पर्ने अवस्था आएको थियो । तर, राष्ट्र बैंकले त्यसो नगरी विकास ऋणपत्र र ट्रेजरीको मात्र निष्कासन बढाउँदा ब्याजदर घट्न मद्दत पुगेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलनको दर ४.५ प्रतिशत तल आएपछि निक्षेप संकलन तथा रिभर्स रिपो जारी गर्नु पर्छ । तर, केन्द्रीय बैंकले अन्तर बैंक कारोबार दर २ प्रतिशतको हाराहारीमा आइपुग्दा पनि तरलता खिच्ने औजार जारी गरेन ।

बैंकहरुले सहज अवस्थामा पनि तरलता अभाव रहेको भन्दै स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउनु पर्ने माग राखे । सो अनुसार अर्थ मन्त्रालयले पनि ६० प्रतिशतसम्म स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न दियो । स्थानिय तहको पैसा बैंकहरुमा निक्षेपको रुपमा आएपछि तरलता झन अधिक हुन पुग्यो ।

बैंकहरुले कर्जा लगानी विस्तार गर्न नसकेको र ब्याजदर पनि बढेको अवस्थामा सरकारी पैसालाई प्रयोग गरेर अधिक तरलता देखाई राष्ट्र बैंक मार्फत ब्याज आम्दानी गर्न खोजेका थिए । बैंकहरुले सरकारी पैसाबाट निक्षेप संकलन र रिभर्स रिपोमा लगानी गरी ब्याज आम्दानी गर्न खोजेपछि राष्ट्र बैंकले अल्पकालिन औजारहरु प्रयोग गरेन । केन्द्रीय बैंकले ब्याजदर घटाउने तथा सरकारी पैसाबाट ब्याज आम्दानी गर्न खोजेका बैंकहरुलाई रोक्दै ट्रेजरीको डिस्काउन्ट रेट २.६८ प्रतिशत विन्दुले घटाउन सफल भएको छ । त्यसैगरी विकास ऋणपत्रको ब्याजदर पनि ७ प्रतिशतमा कायम छ ।

केन्द्रीय बैंकले सोमबार २८, ९१ र १८२ दिने कुल १८ अर्ब ७१ करोड रुपैयाँ बरावरको ट्रेजरी निष्कासन गरेको थियो । यी प्रकारका ट्रेजरीको डिस्काउन्ट रेट घटेको छ । साथै सबै प्रकारका ट्रेजरीका लागि अधिक माग आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । सोमबार निष्कासन भएको ८ अर्ब रुपैयाँ बरावरको २८ दिनेको औसत डिस्काउन्ट रेट २.६८२ प्रतिशत विन्दुले घटेर ३.४४११ प्रतिशतमा झरेको छ । यसभन्दा अघि गत भदौ १९ गते निष्कासन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट ६.१२३१ प्रतिशत थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बरावरको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३५२३ प्रतिशत कायम भएको छ । यसभन्दा अघि असोज २ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको डिस्काउन्ट औसत डिस्काउन्ट रेट ५.४६९४ प्रतिशत कायम भएको थियो ।

केन्द्रीय बैंकले सोमबार नविकरण गरेको ६० करोड रुपैया बरावरको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३९४३ प्रतिशतमा झरेको छ । यसभन्दा अघि सोही अवधिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.०४३२ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।