विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारका लागि १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो।

केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । सो ऋणपत्रको असोज १८ गते बोलकबोलमार्फत गरिनेछ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। यो ऋणपत्र २०८८ असोज १९ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।