वाणिज्य बैंकहरुको दुई महीनाको नाफा १६ अर्ब ६४ करोड धेरै, कसले कति कमाए ?

0
Shares

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो दुई महीनामा कुल १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनमा बैंकहरुको नाफा ३.३५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आवको दुई महीनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ५४ करोड रुपैयाँले बढेको हो । हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको विवरण अनुसार ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आजन गरेको छ । एक अर्ब भन्दाबढी नाफा कमाउने बैंकको संङ्ख्या पाँच छ । पन्ध्र बैंकले दुई महीनामा एक अर्बभन्दा कम नाफा आर्जन गरेका छन् ।

तथ्याङ्क अनुसार ग्लोबल आइएमईले भदौसम्म १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको हो । बैंक आफ काठमाण्डू प्राप्तीपछि ग्लोबल आईएमई पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक समेत बनेको हो । मर्जरपछि ग्लोबल आईएमईले नबिललाई नाफामा उछिनेर पहिलो बनेको हो ।

यसैगरी नबिल बैंकले समीक्षा अवधिमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दुई महीना अवधिको नाफाका आधारमा हिमालयान बैंक तेस्रो बनेको छ । हिमालयनले यस अवधिमा १ अर्ब २३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरी कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ ।

भदौसम्ममा राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५ लाख, प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४१ लाख, एनआईसी एसिया बैंकले ८० करोड ५ लाख, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २६ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख, प्रभु बैंकले ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख र सानिमा बैंकले कुल नाफा ५१ करोड २० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार चालु आवको दुई महीनामा चार बैंकले ५० करोडभन्दा कम नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा नेपाल एसबीआई बैंकले सबैभन्दा कम २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरी माछापुच्छ्रे बैंकले ३७ करोड ६४ रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलले ४४ करोड ३१ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ ।

विग मर्जर गरेपनि प्रभु, सनराइज लक्ष्मी बैंकले भने खुद नाफा उल्लेखनीय प्रगति गर्न सकेका देखिँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।