विस्तारै उकालो लाग्दै नेप्से, दैनिक कारोबार पनि बढ्दै

0
Shares

सेयर बजार परिसूचक नेप्सेको वृद्धिले तेस्रो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । यसअघि पौने दश अर्बसम्म कारोबार हुँदै २ अर्ब हाराहारीमा खुम्चिएको दैनिक कारोबार रकम पनि बढ्दै ३ अर्ब नजिक पुगेको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेर केन्द्रीय बैंकले विकास ऋणपत्र र निक्षेप बोलकबोल मार्फत रकम खिच्नु परेको अवस्था रहेको भएपनि त्यसको सकारात्मक असर सेयर बजारमा पर्न सकेको छैन । यद्यपी विस्तारै बढ्दै गएको सूचक र कारोबार रकमले लगानीकर्ता राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खेको देखिन्छ । राष्ट्र बैंक बोर्डले पारित गरेको खण्डमा माघ महीनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ । 

चालु आर्थिक वर्षको ६ महीनामा मुलुकको अवस्था सेवामुलक क्षेत्र बाहेक सबै क्षेत्रमा सबल बन्दै गएको प्रतिवेदन सार्वजनिक भएपनि त्यसको खास असर बुधबारको बजारमा परेको नदेखिएको हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैदेशिक मुद्रा सञ्चिति, आन्तरिक र बाह्य क्षेत्रका अधिकांश सूचकमा उत्साहप्रद सुधार भएका छन् । चालु खाता बचतमा पुगेको छ भने सोधानान्तर बचतको अवस्था पनि निकै मजबुत बनेको छ । तर पनि सेयर लगानीकर्ताले त्यस अनुरुप बजारमा अपेक्षित सुधार देख्न पाएका छैनन् ।

यसअघि दैनिक पौने दश अर्बको कारोबारमा नाफा सुरक्षित गरेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षापछि बजार प्रवेश गर्नेगरी अहिले राष्ट्र बैंकले सेयर बजारमा कसरी सम्बोधन गर्छ भनेर ‘पर्ख र हेर’ को अवस्थामा रहेका देखिन्छन् । ठूला लगानीकर्ताको प्रवेश नहुँदा नयाँ लगानीकर्ताले पनि बजारमा लगानी खन्याउन आँट नगरेको देखिएको हो ।

नेप्से बुधबार ४.९२ अंकले बढेर २,०९० को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार ९.४४ र सोमबार १४.५७ अंकले बढेको थियो ।त्यसैगरी, यसदिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ ।

सोमबार २ अर्ब ४३ करोड, मंगलबार २ अर्ब ५९ करोड हुँदै बुधबार दैनिक कारोबार रकम २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ कायम भएको छ । आज दिनभरमा ३१३ कम्पनीका ७७ लाख ३२ हजार २३४ कित्ता सेयर ६५ हजार ४६३ ओटा सङ्ख्यामा किनबेच भएका हुन् । आज ९६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थीर छ ।

कारोबारमा आएाक १३ उपसमूहगत सूचकमध्ये बुधबार ७ ओटा बढेको छ भने ६ ओटा घटेको छ। होटल तथा पर्यटन सर्वाधिक १.५० प्रतिशत र जीवन बीमाको इन्डेक्स पनि १.२९ प्रतिशत र जलविद्युत ०.९४ प्रतिशतले बढेको छ। कारोबारमा आएको अन्य उपसमूहगत सूचक सर्वाधिक १.५३ प्रतिशत र निर्जीवन बीमा ०.३९ प्रतिशतले घटेको छ । बाँकी समान्य घटबढ भएका छन् ।

 

कारोबार रकमका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ८२ लाख ६८ हजार रुपैयाँको ३ लाख ५४ हजार २५८ कित्ता सेयर ७ हजार ९५ ओटा संख्यामा खरिद बिक्री भएको छ । यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख, ङादी ग्रुप पावरको ६ करोड ५९ लाख, हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनरल्स एण्ड आयलको ५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको बजारबाट गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। चार ओटै कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किटलागेको हो । यस्तै एशियन हाइड्रोपावरको ९.९९ प्रतिशत, पिपुल्स पावरको ६.३६ प्रतिशत र इङ्वा हाइड्रोपावरको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ ।

बुधबारको बजारबाट ९.५% एनसीसी डिबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा धेरै ५.२५ प्रतिशतले गुमाएका छन् । यस्तै आज युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ४.८७ प्रतिशत, सिटिजन सुपर ३० म्युचुअल फन्डको इकाईधनीले ४.८४ प्रतिशत, ९% नेपाल एसबिआई ऋणपत्र २०८९ को ३.९२ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ८६ अर्ब ३० करोड ८४ लाख ८९ हजार रुपैयाँमा समेटिएको छ । मंगलबार
३२ खर्ब ७८ अर्ब ५७ करोड २ लाख थियो । बुधबार मात्रै ७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।