छ महिनामा एक अर्ब १९ करोडको चकलेट आयात, ९७ करोड राजस्व संकलन

0
Shares

चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म १ अर्ब १९ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरको चकलेट आयात भएको हो । जसबापत सरकारले ९७ करोड ४१ लाख ४४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

छ महिनाको अवधिमा ३७ करोड ७ लाख ७७ हजार रुपैयाँ बराबरको ११ लाख ६२ हजार १० केजी सेतो चकलेट सहितको कन्फेक्शनरी आयात भएको हो । कन्फेक्शनरी ल्याएवाफत ३० करोड ४१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै ८२ करोड ६३ लाख ८५ हजार रुपैयाँ बराबरको १२ लाख ३ हजार ६२ केजी अन्य चकलेट आयात भएको छ । उक्त परिमाणको चकलेट आयात भएसँगै सरकारले ६६ करोड ९९ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, छ महिनाको अवधिमा ११० वटा चकलेट निर्माणको लागि प्रयोग गरिने मेसिन ल्याइएको छ । साउनदेखि पुससम्म १० करोड ३७ लाख ६३ हजार रुपैयाँ बराबरको ११० वटा मेसिन ल्याइएको हो । मेसिन ल्याएवापत ११ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा विषेशगरी बेल्जियम, जर्मनी, हङकङ, भारत, इटली, कारिया मलेसिया, रोमानिया, स्पेन, स्वजरल्याण्ड, थाइल्याण्ड, अमेरिकालगायत देशबाट चकलेट आयात हुने गरेको छ ।

जसमध्ये नेपालमा सबैभन्दा धेरै चकलेट भारतबाट आयात हुने गरेको छ । छ महिनाको अवधिमा भारतबाट ८१ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको ५८ लाख १५ हजार ९११ केजी चकलेट आयात भएको छ । यस्तै चीनबाट ९ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको चकलेट आयात भएको छ भने टर्कीबाट ५ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।