नेप्सेमा लाग्यो सकारात्मक सर्किट, पुरै दिनका लागि कारोबार बन्द

0
Shares

सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सर्किट ब्रेकर लागेर नेप्से ६ प्रतिशतले बढेपछि आज पुरै दिनका सेयर कारोबार स्थगित भएको छ ।

कारोबार सुरु भएको तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको नेप्सेमा पहिलो सर्किट लागेको थियो । त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। दोस्रो सर्किटपछि १२ बजेर ४ मिनेटमा खुलेको बजारमा केही सेकेण्डमा नै थप एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि पुरै दिनभरका लागि सेयर कारोबार बन्द भएको हो ।

एकीकृत माओवादी र कांग्रेसको सत्ता गठबन्धन भत्किएर आजै एमाले सहित नयाँ गठबन्धन बनेर सानो आकारको मन्त्रिपरिषद् समेत निर्माण हुने खबर सार्वजनिक भएसँगै नेप्सेमा सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

 

एक घण्टामै तीन पटक सर्किट लागेर बन्द भएको सोमबारको बजारमा नेप्से ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका म्युचुअल फन्ड बाहेक १२ ओटै उपसमुहगत सूचकमा हरियाली छाएको छ भने जलविद्युत सर्वाधिक ७.८६ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्यको इन्डेक्स ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मुस्किलले ४ मिनेट सेयर खरिद बिक्री भएको आजको बजारमा सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै ४ करोड ५० लाख,हिमालयन रि इन्स्योरेन्सको२ करोड ९९ लाख, शिवम् सिमेन्टको २ करोड ७६ लाख, मोलुङ्ग हाइड्रोपावरको २ करोड २२ लाख र ङादी ग्रुप पावरको १ करोड १ लाखको सेयर कारोबार भएको छ ।

उता आजको बजारमा ४१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ग्लोबल आइएमई र गणपति लघुवित्त सहित पाँच कम्पनीको मूल्य मात्र सामान्य घटेको छ ।

यसअघि गत मंसिर २४ गते, आइतबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको थियो। सो दिन १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। त्यसको करिब ३ महिनापछि फागुन २१ गते सोमबार नेप्से परिसूचक ६ प्रतिशत अर्थात ११७.७० अंकले बढेर २०७८ बिन्दुमा बन्द भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।