निर्जीवन बीमाको ८० प्रतिशत लगानी मुद्दती निक्षेपमा

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका धेरै भएपनि अझैपनि आफ्नो लगानीको अधिकांश हिस्सा बैंकको मुद्दती निक्षेपमा राख्ने गरेको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमकहरुले विभिन्न क्षेत्रमा कुल ६२ अर्ब ३२ करोड ३८ लाख ९२ हजार रुपैयाँ लगानी गरेका छन् । कुल लगानीको ७९.८९ प्रतिशत हिस्सा मुद्दती निक्षेपमा रहेको छ । दोस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूको लगानी ठूलो हिस्सा बैंकहरुको मुद्दती निक्षेपमा रहेको हो । यस अवधिमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा मात्रै ४९ अर्ब ७९ करोड १६ लाख ६२ हजार रुपैयाँ लगानी छ ।

चौध निर्जीवन बीमकले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा मात्रै ४३ अर्ब ४७ करोड ७८ लाख ५१ हजार रुपैयाँ लगानी गरेका छन् । यसमा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा भएको लगानीको हिस्सा करिब ७० प्रतिशत छ । यस्तै, निर्जीवन बीमकहरुले विकास बैंकहरुको मुद्दती निक्षेपमा ५ अर्ब २० करोड ७३ लाख ११ हजार रुपैयाँ लगानी गरेका छन् । यो कुल लगानीको ८.३६ प्रतिशत बराबर हो ।

निर्जीवन बीमकले आफ्नो कुल लगानीको १.७६ प्रतिशत ‘ग’ वर्गका वित्त कम्पनीहरुमा लगानी गरेका छन् । पुस मसान्तसम्म वित्त कम्पनीहरुमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ मुद्ती निक्षेप रहेको छ । यस्तै निर्जीवन बीमकहरुले राष्ट्र बैंकको बचतपत्र तथा ऋणपत्रमा २२ करोड ३ लाख २५ हजार रुपैयाँ लगानी गरेका छन् । यस अवधिमा कुनैपनि कम्पनीले घरजग्गामा लगानी गरेका छैनन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५९ लाख ३ हजार रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्स्थार्को अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर—ऋणपत्रमा ३ अर्ब ८ करोड ७४ लाख ७५ हजार रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयर, बण्ड, डिबेञ्चर—ऋणपत्रमा ९३ करोड ७२ लाख ११ हजार रुपैयाँ, कृषि, उत्पदन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायतका नवीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसार लाइन, स्वास्थ्य र शिक्षा क्षेत्रमा ५९ करोड २० लाख १ हजार लगानी रहेको छ ।

यसैगरी नागरिक लगानी कोषक र म्यचुअल फन्डमा ७० करोड ७२ लाख १८ हजार र अन्य संस्थापक सेयरमा १ अर्ब ९९ करोड ८७ लाख ४४ हजार रुपैयाँ लगानी रहेको छ । यस्तै सुचीकृत नभएको अन्य पब्लिक कम्पनीको ९५ लाख ६० हजार रुपैयाँ र यस्तै अन्य लगानीमा १ अर्ब ५० करोड ३७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।