माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

0
Shares

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । सरकारले चालु आवका लागि मुद्रास्फीति ६.५० प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

सात महिना अवधिमा आयात २.३, निर्यात ७.१ र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६० प्रतिशतले र अमेरिकी डलरमा १९.१० प्रतिशतले बढेको छ । त्यसैगरी, शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।

कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । सात महिना अवधिको सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७० प्रतिशतले बढेको छ ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ प्रतिशतले बढेको छ । त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७० प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।