धितोपत्र बोर्डका अध्यक्षका लागि चार जनाको आवेदन, आज अन्तिम दिन

0
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम दिनभन्दा अघिल्लो दिन फागुन २९ गते मंगलबारसम्म चार जनाको आवेदन परेको छ ।

अध्यक्ष सिफारिस समितिका एक अधिकारीका अनुसार मंगलबारसम्ममा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गनर्भर शिवराज श्रेष्ठ, बीमा समितिका निवर्तमान अध्यक्ष (हाल नेपाल बीमा प्राधिकरण) चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र कृष्ण पोखरेलको आवेदन परेको हो ।

मंगलबारसम्म चार ओटा आवेदन परेपनि आज फागुन ३० गते बुधबार कार्यालय समयसम्म आवेदन दिने समय छ । ती अधिकारीले भने, ‘मंगलबार साँझसम्म चार जनाको आवेदन परेको छ, धेरै आवेदकहरुले अन्तिम समयमा आवेदन पर्ने भएकाले इच्छुकमध्येको धेरै आवेदन आज आउने आंकलन गरिएको छ ।’ उनका अनुसार आंकाक्षीको सङ्ख्या एक दर्जन हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

बोर्डको अध्यक्षको आकांक्षीका रुपमा बोर्डका बाहालवाला कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ, बोर्डकै पूर्व कार्यकारी निर्देशक निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद समेत छन् । बोर्डका निवर्तमान अध्यक्ष हमाल राजनैतिक गठबन्धन फेरिएकाले आवेदन नदिने मनिस्थितिमा रहेको बुझिएको छ ।

मंगलबारसम्म उम्मेदवारी दिएकामध्ये पूर्व डेपुटी गभर्नर श्रेष्ठको बोर्ड अध्यक्षका लागि पहिलो आवेदन हो । बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईं, बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र कृष्ण प्रसाद पोखरेल यसअघि हमालको पालामा समेत उम्मेदवार रहेका व्यक्ति हुन् । पोखरेल सो समयमा अन्तिम तीन अर्थात ‘टप थ्री’ बाट बाहिरिएका थिए । हमाल अध्यक्ष नियुक्त हुँदा अन्तिमसम्म प्रतिस्पर्धामा रहेका पोखरेल र सेयरविज्ञ डा. गोपाल भट्ट प्रतिस्पर्धीमा थिए । चापागाई र अधिकारी भने उक्त समयमा सिफारिस तथा छनोट समितिले गरेको पाँच जनाको सर्टलिस्टमा पर्न सकेका थिएनन् ।

यद्यपी बोर्डको अध्यक्षको दाबेदारी दोहोर्याएका चापागाईं सत्तारूढ दल नेकपा माओवादी केन्द्रनिकट मानिन्छन् । उनी कृष्णबहादुर अर्थमन्त्री हुँदा चापागाईं बीमा समिति अध्यक्ष बनेका थिए । यद्यपी उनी समिति अध्यक्ष बनेका बेला ल्याइएको ‘कोरोना बीमा योजना’ विफल भएको इतिहास छ । कोरोना बीमा गरेका धेरै बीमितले अझै पनि बीमाको रकम पाउन नसकेकाले उनको कार्याकाल बीमाप्रति अविश्वास बढाउने कारण बनेको थियो ।

बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले ४ माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको समिति गठन गरेको छ । सो समितिले ‘अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ तयार गरेर आवेदन आह्वान गरेको थियो ।

अध्यक्ष उम्मेदवारका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।