सेबोनले माग्यो पुँजीबजार सुधार सम्बन्धी राय सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि सेयर लगानीकर्ताका साथै अन्य सरोकारवालाहरुसँग सुझाव मागेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सरोकारवालाहरुसँग दुई दिनभित्र कार्यान्वयनयोग्य सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

‘अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पुँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयबारे सुझाव माग भएको सन्दर्भमा पुँजी बजारका लगानीकर्ता लगायत अन्य सरोकार राख्ने सर्वसाधारणहरुलाई पुँजी बजारको तत्काल सुधारका लागि गर्नुपर्ने कार्यान्वयनयोग्य सुझावहरु सूचना प्रकाशन भएको मितिले दुई दिनभित्र नेपाल धितोपत्र बोर्डको इमेलमा उपलब्ध गराउन हुन अनुरोध गरिएको छ ।’ बोर्डको सूचनामा भनिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री भएसँगै उनकै निर्देशनमा अर्थ मन्त्रालयले फागुन २५ गते आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै एक साताभित्र पुँजी बजारको सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयमा सुझाव पठाउनुअघि सरोकारवालाको चासोबारे जानकारी लिएर उक्त सुझावहरु समेत समेटेर पठाउनका लागि सरोकारवालहरुसँग सुझावका लागि आग्रह गरिएको सेबोनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।