आठ महीनामा झण्डै एक खर्बले बढ्यो नेपालको सार्वजनिक ऋण

0
Shares

नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको आठ महीनामा ९३ अर्ब रुपैयाँले बढेको छ । नेपालको सार्वजनिक ऋण हरेक वर्ष बढ्दो क्रममा छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ कराेड ४३ लाख रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा ९२ अर्ब ८३ करोड रुपैयाँले ऋण थपिएको हो ।

आठ महीनामा सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड ६५ लाख बाह्य ऋण गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । यसबीच सरकारले १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ आन्तरिक र २३ अर्ब ६ करोड ७५ लाख रुपैयाँ बाह्य गरी कुल १ खर्ब २६ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बराबर साँवा भुक्तानी गरेको छ । सोहीकारण २ खर्ब १८ अर्ब नयाँ ऋण लिँदा पनि ऋणको वृद्धि भने ९२ अर्ब ८३ करोड रुपैयाँमात्र थपिएको कार्यालयको तथ्यांक छ ।

कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा नेपालले बाह्य ऋणको सावा ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋणको साँवा व्याज गरी कुल १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालय मातहत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को सात महिना (साउन–माघ) सम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड पुगेको थियो । जसमा  आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड थियो ।

आठ महिनामा १ खर्ब ७५ अर्ब साँवा–ब्याज चुक्ता

सरकारले सात महिनामा १ खर्ब ७५ अर्ब ५१ करोड १४ लाख रुपैयाँ साँवा–ब्याज भुक्तानीमा खर्च गरेको छ । कार्यालयका अनुसार यस अवधिमा १ खर्ब ४६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ आन्तरिक ऋणको साँवा–ब्याज तिरिएको छ । १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ साँवा र ४३ अर्ब ६७ करोड ५८ हजार बराबर ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी भएको छ । यसमध्ये २३ अर्ब ६ करोड ७५ लाख साँवा र ५ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको तथ्यांकले देखाएको छ ।

प्रतिव्यक्ति सार्वजनिक ऋणको हिस्सा ८१ हजार ८८९ रुपैयाँ

फागुन मसान्तसम्मको सार्वजनिक ऋणलाई नेपालको जनसंख्याको हिस्सा अनुसार हिसाब गर्दा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार ८८९ रुपैयाँ २१ पैसा पुगेको छ । माघ मसान्तसम्मको प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार ८३७ रुपैयाँ थियो । एक महीनामा ५२ रुपैयाँले बढेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । सोही जनसङ्ख्यालाई आधार मानेर हिसाब गर्दा यस्तो आँकडा देखिन्छ ।

जीडीपीको ४४.३८ प्रतिशत सार्वजनिक ऋण

तथ्यांक अनुसार अहिले नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.३८ प्रतिशत पुगेको छ । हाल नेपालको कुल ग्राहस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

नेपालमा औसत जीडीपीको ४० देखि ४५ प्रतिशतबीचमा सार्वजनिक ऋणको भार रहँदै आएको छ । त्यसकारण सार्वजनिक ऋण धेरै बढ्यो कि भनेर चिन्ता भने गरिहाल्नुपर्ने स्थिति तत्काल नदेखिएको सरकारले तर्क गर्दै आएको छ । त्यसमाथि पनि वाह्य ऋणको चाप नेपाललाई जीडीपीको २२.३५ प्रतिशत हाराहारी मात्र छ । सरकारी अधिकारीका अनुसार नेपालसँग जीडीपीको ५० प्रतिशतसम्मको सार्वजनिक ऋणको भार थेग्न सक्ने क्षमता छ । आन्तरिक ऋणले भने सरकारलाई अहिले समेत अप्ठ्यारो पारिरहेको छ । यस वर्षमात्र सरकारले आम्दानीको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा–ब्याज तिर्न खर्च गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।