सेयर बजारमा सुधार नभएपनि फाइनान्समा लगानीकर्ताको आकर्षण

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ। यस दिन २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन नेप्से परिसूचक घटेपनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

यस दिन सेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी रहेका छन्। जसमध्ये मल्टीपर्पस फाइनान्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, यस दिन पोखरा फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ६.७९ प्रतिशत बढेको छ। यस दिन सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स पावरको साढे ८ करोडको सेयर किनबेच भएको छ। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।