नेप्से तीन दिनमा ९८ अंकले बढ्यो, निरन्तरको वृद्धिपछि सूचक २११५ बिन्दुमा

0
Shares

सेयर बजार परिसूचक नेप्से पछिल्लो तीन दिनमा ९७ अंकले बढेको छ । जेठ ३ गते बिहीबार २०१८ बिन्दुमा रहेको नेप्से मंगलबारसम्ममा बढेर २११५.९४ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से १.१४ प्रतिशत अर्थात २३.९४ अंकले बढेको हो । सेन्सेटिभ इन्डेक्स ०.९४, फ्लोट १.२५, र सेन्सेटिभ फ्लोट इन्डैक्स १.१४ प्रतिशतले बढेको हो । यसदिन ३१५ कम्पनीका १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ७३ हजार ६६७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा कारोबार रकम भने ६४ करोड ८१ लाखले घटेको हो । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँको धितोपत्र खरिद बिक्री भएको थियो ।

सेयर बजारमा सकारात्मक माहोल सिर्जना हुँदै गर्दा उच्च बजार पुँजीकरण भएका कम्पनीहरुको मूल्य बढ्दै जाँदा सेयर बजारको वृद्धि टिकाउ भएको छ ।यसअघि थोरै पुँजी हुने कम्पनीमा कारोबारीको चलखेलका कारण मूल्य अस्थिर हुने भएपनि ठूलो पुँजी भएका कम्पनीमा संस्थागत लगानीकर्ताको धेरै लगानी हुने भएकाले बजारको वृद्धिको अधार तय भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकहरुको सेयरमा रहेको लगानीको २० प्रतिशत रकम एक वर्षमा बिक्री गर्न पाउने तथा असल वर्गको कर्जामा गरिने सम्भावित कर्जा नोक्सानी व्यवस्थालाई १.२० प्रतिशतमा घटाएपछि बैंकहरुको नाफा बढ्ने भएपछि वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको लगानी बढाएका छन् । मौद्रिक नीतिको समीक्षाले वाणिज्य बैंकहरुको लगानीलाई समेत स्पेश सिर्जना गरेको छ । बैंकिङ्गमा लगानीकर्ता प्रवेश गरेपछि अन्य समुहका कम्पनीहरुमा पनि लगानीकर्ताले खरिद चाप बढाएका छन् ।

आज नेप्से २६.३४ अंकसम्म बढेर २११८.३४ बिन्दुसम्म पुगेको थियो । यद्यपी अल्पकालीन लगनीकर्ताले बिक्री चाप बढाएपछि नेप्से पुनः विस्तारै करेक्शन भएर बजार बन्द भएको हो । यससँगै नेप्सेको २११५ बिन्दुमा कायम भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये विकास बैंक र ब्यापारमा सामान्य गिरावट आउँदा एघार ओटामा हरियाली छाएको छ । ब्यापार०.५३ र विकास बैंक ०.२९ प्रतिशतले घटेको छ। आज फाइनान्स सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१६ प्रतिशत, बैंकिङ्ग १.७७ र लघुवित्त १.४७ प्रतिशतले बढेको छ । लगानी, होटल तथा पर्यटनमुलक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्यको वृद्धिदर एक प्रतिशतभन्दा कम छ ।

सवा ५ अर्बको सेयर कारोबार भएको आजको बजारमा पोखरा फाइनान्सको सर्वाधिक २४ करोड ६४ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । सिईडिबी हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँ, कालिका पावर कम्पनीको १२ करोड ३८ लाख, माउन्टेन इनर्जी नेपाल लिमिटेडको १० करोड ४२ लाख र सिंगटी हाइड्रोपावरको १० करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार कित्ताका आधारमा आज सिंगटी हाइड्रोपावरको ६ लाख २० हजार ३३४ कित्ता सेयर कारोबार भएको छ । शतप्रतिशत हकप्रदपछि आपूर्ति बढेसँगै कम्पनीको कारोबार कित्ता बढेको हो । कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १६७० ओटा सहित शीर्ष स्थानमा रहेको छ ।

आजको बजारमा पनि चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसदिन जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, बिपिडब्लूसँग एकीकृत कारोबारपछि कारोबार खुलेको सामुदायिक लघुवित्त र मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर मूल्य उच्च बढेको हो ।

यससँगै जानकी फाइनान्सको सेयर प्रतिकित्ता ४९.१० ले बढेर ५४०.१० रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तको ७१.१० ले बढेर ७८२.३० रुपैयाँ, सामुदायिक लघुवित्तको १०६.९० ले बढेर ११७६.४० रुपैयाँ र मध्य भोटेकोशीको सेयर मूल्य २९.९० ले बढेर ३२९.९०० रुपैयाँ पुगेको छ । यस्तै हिमालयन लघुवित्तका लगानीकर्ताले ९.७३ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ९.७१, कुथली बुखरी स्मल हाइड्रोपावरको ९.३०, महुली लघुवित्तको ९.२७, नेपाल हाइड्रो डेभलोपर ८.६९ र कालिका पावर कम्पनीको ८.५० प्रतिशतले मूल्य बढेको छ ।

उता मंगलबारको बजारबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको मूल्य ४.२८ प्रतिशतले घटेर ४००.१० रुपैयाँमा झरेको छ । यस्तै भगवती हाइड्रोपावरको सेयर मूल्य ३.१९ प्रतिशतले ७०६ रुपैयाँमा झरेको छ । यसैगरी एनआईसी एशिया ग्राथ फन्ड–२ को यकाईमूल्य ३.०३, रिभर फल्स पावरको २.९१ र माण्डू हाइड्रोपावरको सेयर मूल्य २.६१ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पूँजीकरण ३७ अर्ब ९६ करोडले बढेर ३३ खर्ब ५५ अर्ब २६ करोड १६ लाख रुपैयाँमा समेटिएको छ । सोमबार कुल बजार पुँजीकरण ३३ खर्ब १७ अर्ब २९करोड ६५ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।