हवाई र सडक यातायात सेवा थप गरे चिनियाँ पर्यटकको संख्या दोब्बर हुन सक्ने

0
Shares

होटल संघ नेपालले चीनमा आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या हालको भन्दा दोब्बर हुन सक्ने बताइएको छ । यसका लागि हवाई र सडक यातायात सेवा थप्नु आवश्यक रहेको पनि जनाइएको छ ।

चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएको ७५ सदस्यीय नेपाली होटेल प्रतिनिधिमण्डल र सयभन्दा बढी चिनियाँ पर्यटन व्यवसायीहरुबीच बेइजिंग र छेन्दुमा छुट्टा छुट्टै कार्यक्रम भएको होटल संघ नेपालले जनाएको छ ।

होटल संंघ नेपालका अध्यक्ष विनायक शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमहरुमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्डबाट प्रस्तुतीकरण भएको थियो भने भ्रमणकारी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीहरु बीच बीटुबी बैठक सम्पन्न भएको छ ।

चीनमा २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र हालै संंसद्मा प्रस्तुत नेपालको राष्ट्रिय बजेटमा छिमेकी मुलुकबाट पर्यटन प्रवद्र्धन गराउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको र लुम्बिनीलाई बर्थिंग हब र डेस्टिनेसन वेडिंगको रुपमा प्रवद्र्धन गर्ने क्रममा चीनमा आयोजित उपरोक्त कार्यक्रमको सान्दर्भिकता बढेको सहभागीहरुले बताएका छन् ।

यही जेठ १९ गते चीनतर्फ गएको होटल संघ नेपालका सातै प्रदेशका ७५ सदस्यीय व्यापार प्रतिनिधिमण्डल आज शुक्रबार स्वदेश फिर्ता भएको छ ।

संंघका अध्यक्ष विनायक शाहले नेतृत्व गरेको सो प्रतिनिधिमण्डलमा उपाध्यक्षहरु प्रविणबहादुर पाण्डे, दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरु विनोद शंकर श्रेष्ठ, राजन श्रेष्ठ, राजेन्द्र भट्ट, लक्ष्मण अर्याल, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त र सुशिला बराल, प्रदेश संंघका अध्यक्ष तथा पदाधिकारीहरु लगायत सदस्य होटलहरुको सञ्चालक, महाप्रबन्धक तथा व्यापार व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।